अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ


काठमाडौं – काठमाडौंको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन्। काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनीहरू यतिबेला दशरथ रङ्गशाला पुगेर आफ्नो विवरण टिपाउन व्यस्त छन्।

आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रङ्गशाला पुगेर आफ्नो विवरण दर्ता गराइसकेका छन् छ भने सयौँ लाइनमा रहेका थिए। प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैगरी, रङ्गशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण सङ्कलन गरिरहेको छ।

साथै, विवरण सङ्कलनसँगै त्यहाँ पुगेका नागरिकको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ भने त्यसले उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको छ। लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ।

विवरण सङ्कलनपछि उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी रहेको सचिवालयले जनाएको छ।