महिला नेतृत्व सम्मेलन यही वैशाख २१ मा


काठमाडौं – नेपाल उद्योग परिसङ्घ (सिएनआई) र सिएनआई कोशी प्रदेशको संयुक्त आयोजनामा राष्ट्रियस्तरको महिला नेतृत्व सम्मेलन हुने भएको छ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहकार्यमा यही वैशाख २१ गते प्रदेशको राजधानी विराटनगरमा सो सम्मेलन हुने भएको हो।

‘दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ मुख्य विषय रहने सम्मेलनमा महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा छलफल हुने सिएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए। उक्त सम्मेलनमा सफल महिला उद्यमीहरूका अनुभव आदानप्रदान गर्ने तथा स्वदेशी उत्पादन प्रदर्शनी गरिने आज आयोजित पत्रकार सम्मेलनमा उनलेब बताए।

सम्मेलनमा महिला उद्यमीहरूको सफलताका कथा प्रस्तुति, डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधि एवं विकास साझेदारहरूबीच छलफल हुने जनाइएको छ। परिसङ्घका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।