विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव


काठमाडौं – सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्कासँगकाे भेटवार्ताका क्रममा फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखेका हुन् ।

फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।

मन्त्री पोखरेलले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै फिनल्यान्ड सरकारकातर्फबाट शिक्षा क्षेत्रमा गरिआएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि नेपालको शिक्षालगायत क्षेत्रमा फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गरे ।

शिक्षामन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारी अभिवृद्धिलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएकाे छ ।

उक्त भेटमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गरेको सहयोगलाई आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए । फिनल्यान्डको सहयोगमा हाल विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालित छन् ।

नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेशन’मा फिनल्यान्डको विज्ञता रहेकाले आफूहरू पनि यी शैक्षिक कार्यक्रममा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको बताए ।

राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’को एजेण्डामा फिनल्यान्ड सरकारको विज्ञताको हिसाबले सो क्षेत्रमा पनि सझेदारिता गर्ने इच्छा व्यक्त गरे ।