काठमाडौं – सरकारी कार्यालयको स्थायी जागिर छाडेर सुरक्षा सेवामा प्रवेश गरेका नारायणदत्त पौडेल अन्ततः सशस्त्र प्रहरी बल नेपालको सर्वोच्च पदसम्म पुगेका छन्। मन्त्रिपरिषद्को वैशाख १४ गते बसेको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेसँगै उनको तीन दशक लामो सेवा यात्राले नयाँ उचाइ पाएको हो। हालका महानिरीक्षक राजु अर्याल १८ वैशाखमा चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जाँदैछन्। त्यसपछि पौडेलले सङ्गठनको कमान्ड सम्हाल्नेछन्। उनी सशस्त्र प्रहरी बलका १३औँ महानिरीक्षक बन्नेछन्।
निजामतीमा जान चाहन्थे, सुरक्षा सेवाको नेतृत्वमा पुगे
पौडेलको प्रारम्भिक पेशागत यात्रा सुरक्षा क्षेत्रबाट सुरु भएको थिएन। उनी वीरेन्द्रनगर नगरपालिकामा स्थायी कर्मचारीका रूपमा कार्यरत थिए । त्यसबेला उनको सोच निजामती सेवामै अघि बढ्ने थियो। स्थायित्व, नियमितता र सुरक्षित भविष्यका कारण सरकारी जागिर धेरैका लागि आकर्षक मानिन्थ्यो, पौडेलका लागि पनि त्यही बाटो सहज थियो । तर, समयसँगै उनको लक्ष्य बदलियो । स्नातक तह पूरा गरेपछि नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि आवेदन खुलेको थियो । उनले तयारी गरे, परीक्षा दिए, र पहिलो प्रयासमै सफल भए। त्यसपछि उनले सुरक्षित प्रशासनिक करिअर छाडेर जोखिमपूर्ण तर प्रतिष्ठित सुरक्षा सेवाको बाटो रोजे । स्थायी सरकारी जागिर छाडेर सुरक्षासेवामा प्रवेश गर्नु त्यतिबेला सहज निर्णय थिएन । तर, नारायणदत्त पौडेलले जोखिम रोजे, अवसर बनाए, र अन्ततः संगठनको सर्वोच्च नेतृत्वमा पुगे ।
नेपाल प्रहरीबाट सशस्त्र प्रहरीतर्फ
१८ चैत २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका पौडेल २०५८ सालमा सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण भए। त्यो समय देश द्वन्द्वको कठिन चरणमा थियो। राज्यसामु सुरक्षा चुनौती बढिरहेको थियो र त्यसै सन्दर्भमा सशस्त्र प्रहरी बलको भूमिका विस्तार हुँदै थियो। नवगठित संगठनमा प्रवेश गर्नु पौडेलका लागि केवल करिअर परिवर्तन मात्र थिएन, त्यो राष्ट्रिय आवश्यकतासँग जोडिएको निर्णय पनि थियो । देश कठिन अवस्थामा रहेका बेला प्रत्यक्ष रूपमा योगदान गर्ने अवसरका रूपमा उनले सशस्त्र प्रहरी रोजेका थिए ।
सुर्खेतको माटोबाट राष्ट्रिय नेतृत्वसम्म
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा जन्मिएका पौडेलको बाल्यकाल सामान्य परिवेशमा बित्यो। पढाइसँगै खेलकुदमा रुचि राख्ने उनी अनुशासित र लगनशील विद्यार्थीका रूपमा चिनिन्थे। उनले प्राथमिक शिक्षा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खहरेखोलाबाट पूरा गरे। त्यसपछि अमरदेवी हाईस्कुल, सुर्खेतबाट एसएलसी उत्तीर्ण गरे। उच्च शिक्षा वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातक गरे । पछि त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर (एमपीए) समेत पूरा गरे। उनको शैक्षिक पृष्ठभूमिले प्रशासनिक समझ र नेतृत्व क्षमता विकासमा सहयोग गरेको सहकर्मीहरू बताउँछन्।
बढुवाको स्वाभाविक दाबेदार
पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए। हाल उनी सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत थिए। वरिष्ठताका आधारमा उनी आईजीपी पदका पहिलो दाबेदार मानिन्थे। आईजीपी नियुक्तिका दौडमा एआईजी वंशी दाहाल र एआईजी गणेश ठाडा मगर पनि थिए। तर, दुवै जना पौडेलभन्दा जुनियर भएकाले अन्ततः वरिष्ठताले नै निर्णयको आधार बन्यो ।
दुई वर्षको नेतृत्वकाल
विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण पौडेल १८ चैत २०८४ मा अवकाशमा जानेछन्। त्यसअर्थमा उनले करिब दुई वर्ष संगठनको नेतृत्व गर्नेछन्। यो अवधिमा सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा समन्वय, संगठन सुधार र जनविश्वास मजबुत बनाउने चुनौती उनको सामु रहनेछ। पौडेल भन्छन्, ‘एकपटक राष्ट्रसेवाको वर्दी लगाइसकेपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्य र संगठनका लागि आफूलाई समर्पित गर्नुपर्छ।’
सशस्त्र प्रहरीमा रहँदासम्म आफ्नो अधिकांश समय, ऊर्जा र क्षमता राष्ट्रको सुरक्षाका लागि खर्चिनुपर्ने उनको बुझाइ छ। उनी भन्छन्, ‘केही समय परिवारका लागि पनि हुन्छ, तर बाँकी सम्पूर्ण समय, ऊर्जा र जिम्मेवारी संगठनकै लागि हो।’ निजी जीवनभन्दा पेशागत दायित्वलाई अघि राख्ने उनको दृष्टिकोणले नै उनलाई संगठनको सर्वोच्च पदसम्म पु¥याएको मानिन्छ। पौडेल सशस्त्र प्रहरी बललाई छोटो समयमै आफ्नो औचित्य प्रमाणित गर्न सफल संगठनका रूपमा हेर्छन्। सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा तथा संवेदनशील परिस्थितिमा प्रत्यक्ष परिचालन हुने जिम्मेवारीका कारण सशस्त्र प्रहरी आज राज्यको अपरिहार्य सुरक्षा अंग बनेको उनको बुझाइ छ।
उनका अनुसार देश र जनताको सुरक्षामा योगदान गर्न चाहने युवाका लागि सशस्त्र प्रहरी उत्कृष्ट संस्था हो। उनी भन्छन्, ‘यो गर्व गर्न लायक राष्ट्रिय सुरक्षा संगठन हो, जहाँ काम गर्नु भनेको राज्य र नागरिकको प्रत्यक्ष सेवा गर्नु हो।’ उनले सशस्त्र प्रहरीका दुई महत्त्वपूर्ण बाहिनीको नेतृत्व गरिसकेका छन्। कपिलवस्तुस्थित नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, चन्द्रौटा र पोखरास्थित नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालयमा बाहिनीपतिको जिम्मेवारी सम्हाल्दै उनले सीमाक्षेत्र, रणनीतिक समन्वय र क्षेत्रीय सुरक्षाको नेतृत्व गरेका थिए।
यसअघि एसपी दर्जामा रहँदा उनले विशेष कार्यदल नम्बर १९ बगलामुखी गण, सीमा सुरक्षा कार्यालय बर्दिया तथा नीलबाराही गणको नेतृत्व गरेका थिए । त्यस्तै, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनीको समादेशकका रूपमा समेत काम गरिसकेका पौडेलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा जनशक्ति तयार पार्ने अनुभव पनि छ। अब सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्न लागेका पौडेलका सामु सीमा व्यवस्थापन, विपद् प्रतिकार्य, संगठन सुदृढीकरण र जनविश्वास बढाउने चुनौती छन्। तर, उनको विगत हेर्दा उनी ती चुनौती सामना गर्न तयार देखिन्छन्।



About Us
प्रतिक्रिया