बैंकमा एकपछि अर्को लुटपाट, वित्तीय संस्थाको सुरक्षामाथि प्रश्न


काठमाडौं – सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर हायुटारस्थित एसबीआइ बैंकको शाखामा भएको लुटपाट घटनाले देशभर तरंग सिर्जना गरेको छ। पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा क्रमबद्ध रूपमा लुटपाट, आक्रमण र तोडफोडका घटनाहरू बढ्दै जानुले बैंक तथा वित्तीय संस्थाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरू बताउँछन्। सामान्यतया रकम जम्मा गर्न सबैभन्दा सुरक्षित मानिने बैंकहरू नै लुटिन थालेपछि सर्वसाधारणको विश्वास कमजोर बन्ने खतरा देखिएको छ। पछिल्ला वर्षहरूमा बैंकका एटिएम तोडफोड, शाखामा लुटपाट, ऋण असुलीमा खटिएका कर्मचारीमाथि हातपात र अभद्र व्यवहारका घटनाहरू लगातार सुनिँदै आएका छन्।

गत पुस २१ गते एनआईसी एशिया बैंकका एक ऋणीले बैंक परिसरमै आत्मदाह प्रयास गरेको घटना सेलाउन नपाउँदै पुनः सिन्धुलीमा एसबीआइ बैंक लुटिएको हो। यसअघि ज्योति विकास बैंकका कर्मचारीमाथि अभद्र व्यवहार भएको घटना पनि सार्वजनिक भएको थियो। नेपाल बैंक, नबिल बैंक, एसबीआइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक र सिटिजन बैंकलगायतका विभिन्न शाखाहरूमा यसअघि पनि लुटपाट तथा चोरीका घटना भइसकेका छन्।

घ्याङलेखस्थित एसबीआइ बैंक लुटपाटपछि बैंकिङ्ग क्षेत्र फेरि त्रसित बनेको छ। नबिल बैंकका पूर्व अध्यक्ष उपेन्द्र पौडेलकाअनुसार यस्ता घटनाले बैंकका कर्मचारीमा सन्त्रास पैदा गर्नुका साथै बैंकमा थुप्रिएको खर्बौं रुपैयाँको लगानी जोखिममा पार्ने खतरा बढाउँछ। यसले बैंकहरूको खराब कर्जा अनुपात झनै बढ्न सक्ने उनको भनाइ छ।

एसबीआइ बैंक लुटपाट प्रकरणमा हालसम्म ७ जना पक्राउ परिसकेका छन्। घटनाबाट लुटिएको ३ करोड ७ लाख रुपैयाँमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक(एसपी) लालध्वज सुवेदीका अनुसार लुटपाटकै दिन एक जना पक्राउ परेका थिए, भने जंगलतर्फ भागेका थप चार जनालाई पुस ३० गते नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनामा प्रयोग गरिएको टाढा सुमो जीप र चालक भवतसिंह थापालाई समेत नियन्त्रणमा थियो।

अनुसन्धानका क्रममा लुटेराहरूले बैंकका कर्मचारीका हातखुट्टा बाँधेर भल्टको चाबी लिई ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको खुलेको छ। लुटपाटपछि जंगलतर्फ भाग्ने क्रममा रकम बाटोमा खसालेको आधारमा खोजी तीव्र बनाउँदा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरेको थियो। लुटपाटका क्रममा बैंकका गार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार हुँदा उनी सामान्य घाइते भएका थिए।

पक्राउ प्रतिवादीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको सुवेदी बताउँछन्।प्रहरीले उनीहरूको साथबाट खुकुरी २ थान, प्लास्टिकको पेस्तोल १ थान, मोबाइल थान ५ थान लगायतका सामान बरामद गरेको छ। चोरीमा संलग्न काभ्रेपलान्चोकका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन गिरी, विवेक मगरसहित १६ वर्षका एक जना पक्राउ परेका छन्।

प्रवक्ता सूर्य प्रकाश सुवेदीकाअनुसार पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युलाई सोधपुछका क्रममा उनीहरूले असोजबाट नै बैंक लुट्ने योजना बनाई सोही अनुसारको तयारी तथा सूचना संकलन गरेको खुल्न आएको छ।

यसअघि पनि विभिन्न स्थानमा बैंक लुटपाटका गम्भीर घटना भएका छन्। २०७० सालमा कैलालीको मालाखेतीस्थित नबिल बैंक शाखाबाट ट्राफिक प्रहरीको भेषमा आएका पाँच जनाले २ करोड ३० लाख रुपैयाँ चोरी गरेका थिए। २०८१ मा पर्साको वीरगन्जस्थित नबिल बैंक शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जना पक्राउ परेका थिए ।

त्यस्तै, सप्तरीको खडक नगरपालिका–७ स्थित नेपाल बैंकमा सुरक्षा गार्ड सुतिरहेका बेला बन्दुक, गोली, मोटरसाइकललगायत सामग्री चोरी भएको थियो भने २०७८ मा मोरङको सिटिजन बैंकबाट २१ लाख रुपैयाँभन्दा बढी लुटिएको थियो। २०८० मा महोत्तरीको एनएमबी बैंक शाखाबाट पेस्तोलसहित आएका लुटेराले १५ लाखभन्दा बढी नगद लुटेर फरार भएका थिए। यसै वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र रहेको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको घटना पनि सार्वजनिक भइसकेको छ।