काठमाडौं – फिनटेक एलायन्स नेपाल (फन) ले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को पूर्वसन्ध्यामा पुस १४ (डिसेम्बर २९) गते काठमाडौंको दरबारमार्गस्थित क्याफे ओफिलियामा उच्चस्तरीय प्रि–इभेन्ट सोसल कार्यक्रम सम्पन्न गरेकाे छ। आगामी पुस १८ र १९ (जनवरी २/३) गते सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने एक्स्पोको तयारीस्वरूप आयोजना गरिएको साे कार्यक्रममा फिनटेक क्षेत्रका सरोकारवालाबीच सहकार्य र रणनीतिक संवादमा जोड दिइएको उपाध्यक्ष देव खड्काले बताए।


कार्यक्रममा बैंकिङ्ग, भुक्तानी सेवा प्रदायक (पीएसपी ) भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा सूचना प्रविधि क्षेत्रका ७० भन्दा बढी उच्च तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

आयोजकका अनुसार हालसम्म एक्स्पोमा ८७ संस्थाले सहभागिताका लागि बुकिङ गरेका छन्। जसमा ४५ प्रदर्शक, ११ प्रायोजक, २० इकोसिस्टम साझेदार, ६ स्टार्टअप टेबल, ४ कम्युनिटी टेक टेबल तथा एक इभेन्ट पार्टनर रहेका छन्। फिनटेक एलायन्स नेपालले यस्ता ‘फिनटेक सोसल’ कार्यक्रममार्फत डिजिटल वित्त क्षेत्रका सरोकारवालाबीच सहकार्य र संवादलाई निरन्तर प्रवर्द्धन गर्दै आएको छ।

उपाध्यक्ष खड्काअनुसार,’यो कार्यक्रम एक्स्पोलाई सफल बनाउने आधार तयार गर्ने उद्देश्यले आयोजना गरिएको हो। बैंकदेखि स्टार्टअपसम्मलाई एउटै प्लेटफर्ममा ल्याएर डिजिटल अर्थतन्त्रलाई अघि बढाउने हाम्रो लक्ष्य हो।’ एक्स्पोमा डिजिटल भुक्तानी प्रविधिको प्रत्यक्ष प्रदर्शन, नियामक संरचना तथा डिजिटल रूपान्तरणसम्बन्धी छलफल र उद्योगका अग्रणी व्यक्तित्वहरूसँग सञ्जाल विस्तार गर्ने अवसर रहनेछ। प्रि–इभेन्ट सोसलबाट सिर्जित उत्साहले यो एक्स्पो नेपालको डिजिटल वित्त क्षेत्रका लागि महत्वपूर्ण मोड बन्ने आयोजकको अपेक्षा छ।


थप जानकारीका लागि https://www.fintechnepal.org/nepal-fintech-expo-2026/मा जान सकिन्छ भने टिकट तथा बुकिङ https://events.khalti.com/events/ET257VMFBMMU?sub_event=trueबाट गर्न सकिने आयोजकले जनाएकाे छ। फिनटेक एलायन्स नेपाल डिजिटल वित्तीय क्षेत्रको समावेशी र दिगो विकासका लागि सहकार्य प्रवर्द्धन गर्दै आएको संस्था हो।





About Us
प्रतिक्रिया