काठमाडौं – यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टरहरूमा बिचौलियाको काम गरी सेवाग्राहीलाई दुःख–हैरानी दिने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झमकलाल श्रेष्ठ, अनिमेष अवा, बासु खड्का, भिम बहादुर नेम्वाङ, प्रदिप श्रेष्ठ, शर्मिला चौलागाई, दिपा कटुवाल,दुर्गा प्रसाद न्यौपाने, रन्जित महर्जन,अर्जुन चौधरी, दिवस लामा,सरोज ढंगाना, सन्तोष स्याङतान,दिलिप खड्गी रहेका छन् ।
उनीहरूले यातायात व्यवस्था कार्यालय राधे राधे, यातायात व्यवस्था कार्यालय गुर्जुधारा तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका स्थानहरूमा बिचौलियाको काम गरी सेवाग्राहीहरूलाई दुःख हैरानी दिनुका साथै यातायात व्यवस्था कार्यालयका कर्मचारी समेतको दैनिक कामकारबाहीमा प्रभाव पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लिखित तथा ट्रायल फेल भएकाहरूलाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी नेपाली रकम १० हजार सम्म लिने गरेको खुल्न आएको छ । साथै, लाईसेन्स प्रिन्ट तथा ब्लु बुक लगायतका कागजात नवीकरण सहज तरिकाबाट गरी दिने भनी अतिरिक्त रकम लिने गरेको प्रहरीले जनाएको छ । त्यस्तै, मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाई अतिरिक्त रकम लिने गरेको र यातायात कार्यालयसँग सम्बन्धित काममा कर्मचारीको सेटिङमा छिटोछरितो गराइदिने भन्दै बिचौलिया जन्य अन्य कार्यहरू गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया