विस्फोटक पदार्थसम्बन्धी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ


काठमाडौं – विस्फोटक पदार्थसम्बन्धी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा घर भई कपन बस्ने ५० वर्षीय  राजकुमार तामाङ रहेका छन्। उनलाई प्रहरीले १३ वर्षपछि उनकै घरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङ लामा २०६८ साल फागुन १५ गते काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराउने घटनामा संलग्न थिए। उक्त विस्फोटमा मानबहादुर तामाङसहित तीन जनाको मृत्यु हुनुका साथै सोम तामाङसहित अन्य व्यक्ति घाइते भएका थिए। घटनापछि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा उनी फरार रहेका थिए।

यसअघि तामाङ लामालाई २०६९ साल असार १२ गते पाँचथर जिल्लाको साविक लुङरूपा–२, भुसपाते क्षेत्रबाट विस्फोटक पदार्थसहित पक्राउ गरी अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको थियो। 

अनुसन्धानपछि केन्द्रीय कारागार, नख्खु पठाइएका उनी २०७६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए। त्यसपछि उनीमाथि पाँचथरमा दर्ता विस्फोटक पदार्थसम्बन्धी मुद्दा अझै बाँकी रहेको जनाइएको छ। उनलाई पक्राउ गरी  आवश्यक कानुनी कारबाहीका लागि तामाङ लामालाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको प्रहरीले जनाएको छ।