बैंकिङ्ग समाचार, काठमाडौँ ।
लामोसमयदेखि करिब ठप्प रहेको कर्जाको माग भदौ लागेयता बढ्न थालेको छ । चैत मसान्तमा समग्र वित्तीय क्षेत्रको कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब हाराहारी रहेकोमा साउन मसान्तसम्म ४८ अर्ब ५९ अर्ब रुपैयाँ थियो । त्यस्तै वाणिज्य बैंकको कर्जा प्रवाह चैत मसान्तमा ४३ खर्ब १ अर्ब रहेकोमा साउन मसान्तमा ४२ खर्ब ९९ अर्ब रुपैयाँ थियो ।
भदौ १० गते वित्तीय क्षेत्रको समग्र कर्जा प्रवाह ४८ अर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकको कर्जा प्रवाह ४३ खर्ब १३ अर्ब पुगेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० भदौमा ४४ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा २२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । यो झन्डै दोब्बरले वृद्धि भएको तथ्याङ्गक हो ।
त्यस्तै, कर्जा प्रवाह ठप्प भएपछि दबाबमा परेको बैंकहरु निर्माण तथा व्यवसायिक क्षेत्रलाई चलायनमान बनाउने भन्दै घर कर्जामा केन्द्रित भएका छन् । त्यस्तै, लामो समयदेखि गाडीको व्यापार कमजोर रहेको अवस्थामा हालै सम्पन्न अटो व्यवसायको कुम्भ मेला नाडा अटो सोले पनि गाडीको व्यवसाय फस्टाउने अनुमान गरिएको छ ।
गत वर्ष कर्जा प्रवाह जम्मा ३.४२ प्रतिशतले बढेको थियो । बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउन आयातमा गरिएको कडाइले एलसी खोल्ने क्रम निरुत्साहित हुँदा कर्जाको माग नभएको भन्ने बुझिएको छ भने समष्टिगत मागमा पनि कमी आएको छ । कित्ताकाट रोकिँदा घरजग्गा कारोबार पनि प्रभावित भयो र सोचेअनुरुप घर–जग्गा कारोबार नहुँदा भएको पैसा सबै बैंक तथा वित्तीय संस्थामा फ्रिज भएको कि भन्ने प्रक्षेपण गरिएको थियो । तर मन्दीतर्फ गएको अर्थतन्त्र विस्तारै लयमा फर्किने अपेक्षासँगै कर्जा प्रवाह पनि बढेको अनुमान लगाइएको छ ।
सरकारले अर्थतन्त्र चलायमान बनाउने भन्दै वर्गीकरण नसकिए पनि घरजग्गा कारोबार खुला गरेको छ । गत वर्ष कर्जाको मागमा सुस्तताका कारण दबाबमा परेका बैंकहरुले अहिले कर्जा प्रवाह बढाउन उपाय खोजिरहेका छन् । भदौ ३१ सम्म बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम झन्डै सवा ४ खर्ब छ । यसमध्येको ६३ अर्ब रुपैयाँ स्थानीय तहको हो ।
गत वर्ष बैंकहरु स्रोतको दबाबमा पनि थिए । प्राथमिक पुँजीकोषमाथि परेको दबाबका कारण कतिपय बैंक लगानी गर्न सक्ने अवस्थामै थिएनन् । उनीहरु कर्जा असुलीमा केन्द्रित भए । विभिन्न कारणले कर्जा प्रवाह हुन नसक्दा बैंकहरुको नाफा वृद्धि पनि ५.९२ प्रतिशतमा सीमिति भएको छ । अघिल्लो वर्ष ६६ अर्ब २५ करोड खुद नाफा गरेका बैंकहरुले गत वर्ष ७० अर्ब १७ करोड नाफा गरेका छन् ।
बैंकहरुको वितरणयोग्य नाफा १३ अर्बले घटेको छ । अघिल्लो वर्ष ४७ अर्ब ३७ करोड रहेको बैंकहरुको वितरणयोग्य नाफा गत वर्ष २७.४६ प्रतिशतले घटेर ३४ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया