काठमाडौं – चालु आर्थिक वर्षका लागी सरकारले स्टार्टअप उद्यम कर्जाको लागि परियोजना प्रस्ताव गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन माग गरेको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा लिन चाहनेहरूलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेका अनुसूची – १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीबाट दरखास्त आह्वान गरेको हो ।
यसअघि तीन प्रतिशत ब्याजदरमा नै २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा दिँदै आएको सरकारले यो पटक भने एक स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम सीमा २५ लाखबाट २० लाख कायम रहे पनि कर्जाको अवधि भने ५ वर्ष नै रहनेछ । स्टार्टअप उद्यमीले यो कर्जा कसरी लिने, कस्ता व्यक्तिले यो कर्जा पाउने भन्ने विषयमा बैंकिङ्ग समाचारले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्तासँग कुराकानी गरेको छ :
सामान्य उद्यमीले बुझ्ने भाषामा भन्नुपर्दा स्टार्टअप कर्जा भनेको हो ?
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन सहित) आएको छ । जसअनुसार यो कार्यक्रम गर्न लागेको हो । स्टार्टअप उद्यमको परिभाषा राष्ट्रिय स्टार्टअप नीति २०८१ मा पनि दिइएको छ ।
जसमा उद्यम उद्योगको रूपमा दर्ता भएर नवपर्वतनीय वा सिर्जनात्मक सोच लिएर तीव्र वृद्धिको सम्भावना भएर प्रविधिको प्रयोग गरेर वा प्रविधिको प्रयोग बिना नै पनि सञ्चालन भएका उद्यमलाई बुझिन्छ । कुनै पनि समस्याको समाधानमा जुट्दा इनानेभसन गरेर कुनै पनि उद्यम गरियो भने त्यसलाई स्टार्टअप भनिन्छ । अहिले नेपालको उदाहरणको रूपमा लिने हो भने राइड शेयरिङ एपहरु, फुडमान्डूलाई लिन सकिन्छ ।
यो कर्जा साना साना उद्यम गरिरहेका र भर्खरै व्यवसायमा प्रवेश गरेकाहरू लक्षित हो । जोसँग धितोका लागि घरजग्गा हुँदैन र यसबारे राम्रो ज्ञान पनि हुँदैन । त्यसैले एउटा साधारण स्टार्टअप उद्यमीले यो कर्जा लिनुपर्दा कसरी लिने ?
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको वेबसाइटमा फर्म राखिएको छ । २ पेजको फर्मसँगै फर्म भर्ने तरिका पनि राखिएको छ। जो कोही उद्यमीले सो फर्मबाट यस कर्जाको लागी आवेदन दिन सक्नेछन् । वेबसाइटमा रहेको फर्मलाई अनलाइनमार्फत र भर्चुअल माध्यमबाट भर्न सकिन्छ । सकेसम्म अनलाइन माध्यमबाट फर्म भर्न हामीले जोड गरिरहेका छौँ । १२ वटा चरणहरू रहेको सो फर्ममा आवश्यक कागजात पनि समावेश गरिदिनुपर्नेछ ।
यसको ब्याजदर कति हुन्छ ? कति वर्षमा तिरिसक्नुपर्छ ?
स्टार्टअप उद्यमीलाई २० लाख रुपैयाँसम्म कर्जा वितरण गर्ने भन्ने सरकारी नीति छ । यसको ब्याजदर ३ प्रतिशत कायम गरिएको छ भने यो ब्याजदर पछि बढ्ने घट्ने भन्ने हुँदैन । यस ऋणको समयावधि सरकारले नै ५ वर्षको दिएको हुन्छ ।
यसका लागि धितोचाहिँ के राख्नुपर्छ ?
सरकारले दिन लागेको ५ देखि २० लाखको स्टार्टअप कर्जा लिन कुनैपनि किसिमका धितो राख्न नपर्ने व्यवस्था छ ।
ऋण लिएपछि के कसरी खर्च गर्नुपर्छ ?
ऋणीले २० लाख लिएपछि १९ वटा उद्यममा खर्च गर्नुपर्छ । यसलाई ५ वटा वर्गमा राखिएको छ । उद्यमीले आफूले गरेको उद्यमको दर्ता, नवीकरण गरेको कागजात, अडिट रिपोर्ट र कर चुक्ताका साथै भविष्यमा प्रदान गर्न सकिने रोजगारीको अवसरसमेत योजना कागज बुझाउनु पर्नेछ ।
लक्ष्य र उद्देश्यभन्दा बाहिर खर्च गरेको पाइयो भने के हुन्छ ?
हामीले सिफारिस गरेर पठाएपछि सम्बन्धित बैंकको शाखाले स्थलगत निरीक्षण गरेर निवेदन पेस गर्दाको उद्यम सञ्चालनमा रहेको खण्डमा मात्रै कर्जा पाउँछन् । कर्जा पनि तीन किस्ताको दरले दिने हुँदा यस्तो जोखिम हुँदैन । पहिलो किस्ता ५ लाखको हुन्छ । दोस्रो किस्ता दिने समयमा पहिलो किस्तामा के के गर्ने भनेर तोकिएको हुन्छ त्यो काम पूरा भएपछि मात्रै दिइन्छ ।
गत दुई वर्षदेखिको अनुभवको हिसाबमा पनि यस्तो देखिएको छैन । दुई वर्षमा ७ सय ६५ जना ऋणीहरूले यो कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । जसमा गत वर्ष पनि ३ सय ५६ उद्यमीले २८ करोड ५६ लाख रुपैयाँ स्टार्टअप कर्जा पाएका थिए । गत दुई वर्षमा २ करोड ९० लाख बराबर लगानी त फिर्ता नै भइसकेको अवस्था छ ।
कर्जाका लागि योग्य वा अयोग्य भनेर छनोट प्रक्रिया कस्तो हुन्छ ?
स्टार्टअप उद्यम कर्जाका लागी योग्य वा अयोग्य भनेर छनोट गर्ने मूल्याङ्कन समिति छ । जुन समितिले कार्यविधिमा रहेर आएका प्रस्ताव स्वीकार गर्ने गर्छन् । छनोट भएकाहरूले आगामी माघ महिनासम्ममा ऋण प्रदान गर्ने गरी काम गरिरहेका छौँ ।
यस कर्जाका लागी आवेदन दिने दिन २१ दिनको मात्रै छ । यस समयमा सेवाग्राहीहरूले विभिन्न किसिमका समस्या व्यहोर्नु परेको होला । उनीहरूको जिज्ञासा पनि होलान् । यस्तो समयमा ग्राहकलाई के कसरी सेवा प्रवाह गरिराख्नुभएको छ ?
स्टार्टअप उद्यम कर्जा वितरण गर्ने भनिएको दिनदेखि हामीले लगातार रूपमा आएका जिज्ञासा र समस्याहरूको समाधान गर्ने प्रयास गरिरहेका छौँ । कार्यालय समय बाहेकमा आएका हरेक फोन र वेबसाइट अथवा मेलमा आएका जिज्ञासा पनि बुझाइरहेका छौँ ।






About Us
प्रतिक्रिया