भगवती हाइड्रोपावरको प्रिमियममा निष्काशित आइपीओमा आवेदन दिने आज अन्तिम दिन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात भदौ ५ गतेबाट सर्वसाधारणका लागि प्रिमियममा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

सोमध्ये ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।

सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।