उपत्यकामा उच्च मनोबलका साथ ट्राफिक प्रहरी परिचालित गरिएको छ: एसएसपी अधिकारी


काठमाडौं – उपत्यका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले काठमाडौं उपत्यकामा जारी जेनजी आन्दोलनका बीच, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोडका बाबजुद, ट्राफिक व्यवस्थापनमा उच्च मनोबलसहित ट्राफिक प्रहरीहरू परिचालन गरिएको बताएका छन् । 

आन्दोलनका क्रममा कार्यालय पूर्ण रूपमा जलेर नष्ट भए पनि ट्राफिक सेवा अवरुद्ध हुन नदिइएको उनले बताए। उनले भने, ‘संस्थागत क्षति ठुलो भए पनि हामीको सेवा प्रतिबद्धतामा कुनै कमी छैन। ट्राफिक प्रहरीहरू उच्च मनोबलका साथ काममा खटिएका छन्।’

आन्दोलनका क्रममा काठमाडौंका मुख्य सडकहरूमा रहेका डिभाइडर, ट्राफिक संकेत बत्ती र सिसिटिभीहरूमा समेत क्षति पुगेको अधिकारीले जानकारी दिए। यस्तो अवस्थालाई मध्यनजर गर्दै उनले सडकमा पहिलेको तुलनामा बढी संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको अधिकारीले जानकारी दिए।  सवारी चालकहरूले ट्राफिक नियम पालना गरेमा यस्तो कठिन परिस्थितिमा समेत यातायात व्यवस्थापन थप सहज हुने अधिकारीले बताए ।