सरकारले टेलिग्राममा प्रतिबन्ध लगायो, तर ठगीका उजुरी अलपत्र


काठमाडौं – आपराधिक गतिविधि बढाएको उजुरीपछि सरकारले टेलिग्राम नामक एपमाथि नै प्रतिबन्ध लगायो । तर, एपबाट भएका आपराधिक गतिविधिसम्बन्धी उजुरी भने अलपत्र परेका छन् । गत २ साउनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एपमाथिको पहुँच रोक्न निर्देशन दिएको थियो । टेलिग्राम नामक एपको प्रयोग गरी आपराधिक समूहले अवैधरुपमा रकम ठगी गर्नुका साथै रकम ओसार प्रसार र शुद्धीकरण गर्ने गतिविधि बढेपछि सरकारले यो एप माथि नै प्रतिबन्ध लगाएको थियो । तर, टेलिग्राम बन्द गरिए पनि त्यसको माध्यमबाट हुने उजुरी भने अलपत्र परेका छन् ।

टेलिग्राम एपमार्फत किप्टोकरेन्सी कारोबार, विदेशी विनिमयको अवैध कारोबार, जुवा तथा ठगीजस्ता गैरकानुनी गतिविधिहरू तिव्र रुपमा बढ्दै गएपछि एप बन्द गरिएको हो । सरकारले एपमा प्रतिबन्ध लगाएको भए पनि प्रतिबन्ध लागू हुनुअघि भएका ठगीका घटनाहरूको उजुरी भने साइबर ब्युरोमा लगातार आइरहेको छ । साइबर ब्युरोले भने प्रतिबन्धपछि पनि एपमार्फत विगतमा भएका आपराधिक गतिविधिको अनुसन्धान जारी राखेको छ ।

ठगी गर्नका लागि सर्वसाधारण व्यक्तिका खाता निर्माण गरी पूर्ण ठगी गर्ने वातावरण सिर्जना गर्नुपर्ने भएकाले कमी भएको पाइएको ब्युरोले जनाएको छ ।

गत आवको जेठ असारबाट टेलिग्रामबाट हुने ठगी ह्वातै बढेकोमा माघ फागुनसम्ममा आइपुग्दा केही हदसम्ममा यसको माध्यमबाट हुने ठगी कमी आएको थियो । तर यसबाट गरिने ठगी हुने क्रम साँच्चिकै कम नभई पहिला ठगी गर्न प्रयोग गरिएका व्यक्तिहरू पक्राउ पर्नुका साथै, स्रोत तथा साधनलाई ब्युरोले कब्जा गरेकाले गर्दा कम भएको थियो । ठगी गर्नका लागि सर्वसाधारण व्यक्तिका खाता निर्माण गरी पूर्ण ठगी गर्ने वातावरण सिर्जना गर्नुपर्ने भएकाले कमी भएको पाइएको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार गत आव ०८१/८२ मा मात्र टेलिग्रामबाट ५६ करोड भन्दा बढीको ठगी भएको थियो । सामाजिक सञ्जाल टेलिग्राममार्फत हुने मनी लाउन्डरिङलाई कम गर्ने अभिप्रायले टेलिग्रामलाई बन्द गरेको हो । टेलिग्राम नामक एपको माध्यमबाट आपराधिक कार्यबाट कमाएको रकमलाई शुद्धीकरण गर्ने क्रम बढेपछि नेपालमा टेलिग्राम एप बन्द गरिएको हो । टेलिग्राममा सुरुमा १० हजार लगानी गर्दा १३ हजार रुपैयाँ वा १५ हजार रुपैयाँ प्राप्त गर्ने आस देखाउने गर्छन् । आफूले लगानी गरेको भन्दा बढी रकम पाउने आसमा टेलिग्रामका प्रयोगकर्ताहरूले रकम लगानी गर्ने गरेको ब्युरोका डिएसपी जर्नादन घिमिरे बताउँछन् ।

टेलिग्राममा सुरुमा १० हजार लगानी गर्दा १३ हजार रुपैयाँ वा १५ हजार रुपैयाँ प्राप्त गर्ने आस देखाउने गर्छन् ।

उनले भने, ‘सुरुवाती चरणमा सानो रकममा सम्ममा उसलाई फाइदा दिने पछि उसले बढी लगानी गर्न थालेपछि विभिन्न काम दिने तर पुरा गर्न नसकेको र समय बढी लगाएको बहानामा रकम झ्वाम्म पारिदिने र अर्को काम दिने त्यसमा पनि विभिन्न बहाना पारी उसले लगानी गरेको सबै रकम फस्ने गर्छ ।’ प्रयोगकर्ताले आफ्नो रकम नसकिँदासम्म आफू फसेको पत्तै नहुने जस्ता घटनाहरू साइबर ब्युरो बढ्दै गएको उनले जानकारी दिए ।

टेलिग्रामबाट ठगी गर्नेहरूले टेलिग्राममा अनलाइन सामग्री किन्ने प्लेटफर्महरू जस्तै गरी प्लेटफर्म निमार्ण गर्छन् । प्लेटफर्मबाट विभिन्न सामान खरिद गर्न लगाउँछन् । बिस्तारै प्रयोगकर्तालाई रकम लगानी गर्न लगाउँदै जान्छन् । सानो रकम लगानी गरेर लगानी गरेको भन्दा बढी रकम दिँदै टेलिग्रामको माध्यमबाट कमाउन सकिन्छ भने भ्रम सिर्जना गरी एपप्रति लत सिर्जना गरिन्छ। बिस्तारै प्रयोगकर्ताको जीवनभरको कमाइनै ठगी गर्ने गरिएको ब्युरोले जनाएको छ । आर्थिक वर्ष ०७९/८० मा प्रहरीमा टेलिग्रामबाट हुने ठगी र मनि लाउन्डरिङका घटनाहरू कम आउने गरेको थियो । तर आव ०८०/८१ मा साइबर ब्युरोमा मात्र टेलिग्रामबाट हुने ठगीको ८१ वटा घटना ब्युरोमा आएको थियो । जसमा ५९ वटा घटना जारी नै रहेका थिए, भने २२ वटा घटना बन्द भएका थिए ।

टेलिग्रामबाट ठगी गर्नेहरूले टेलिग्राममा अनलाइन सामग्री किन्ने प्लेटफर्महरू जस्तै गरी प्लेटफर्म निमार्ण गर्छन् ।

त्यस्तै, आव ०८१/८२ मा टेलिग्रामबाट हुने ठगीका घटनाहरू ह्वातै बढेको थियो । यस आवमा मात्र १ हजार ४ सय ५९ वटा उजुरी टेलिग्रामबाट परेको थियो । जसमा २६४ वटा केस बन्द भएका थिए, भने १ हजार १ सय ९५ वटा उजुरी जारी नै रहेको थियो । यो तथ्यांक साइबर ब्युरोमा परेको टेलिग्रामबाट हुने ठगीको उजुरी हो । प्रहरीका विभिन्न विभागहरू, प्रदेश प्रहरी र स्थानीय स्तरका प्रहरीका निकायहरूमा यस्तै संख्यामा टेलिग्रामको उजुरी पर्ने गरेका ब्युरोका प्रहरीहरू बताउँछन् ।

जसले गर्दा प्रहरीले सरकारलाई टेलिग्रामका माध्यमबाट हुने गरेको मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण)का घटना देखाउँदै पटक पटक एप बन्द गर्ने आग्रह गर्दै आएको थियो । प्रहरीले गरेका आग्रहलाई ध्यानमा राख्दै सरकारले हाल यस एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएका हो । अब टेलिग्रामबाट ठगी हुने र मनी लाउन्डरिङ नहुने भएपछि यस्ता आपराधिक कार्यमा कमी आउने प्रहरीको विश्वास छ । गत आवमा टेलिग्रामबाट ठगी हुने क्रम बढेपछि ब्युरो यस्ता खाताहरू र धेरै व्यक्तिहरूलाई कानुनको दायरामा ल्याएको थियो ।

प्रहरीका अनुसार टेलिग्राममा पुरुषहरूलाई भन्दा महिलालाई बढी सुविधा दिएको जस्तो गरी ठग्ने गरिएको छ ।

विशेषज्ञहरूका अनुसार टेलिग्राम कुनै पनि प्रकारको संवेदनशील डाटा संकलनका लागि सहज प्लेटफर्म होइन । ०८१ साल भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल ड्युरोभ फ्रान्समा पक्राउ परेका थिए । त्यस बेलामा उनी माथि विभिन्न किसिमका आपराधिक आरोपसमेत लागेको थियो । जसमा मनी लाउन्डरिङलगायत गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाइएको थियो । यस एपलाई चीनले पनि प्रतिबन्ध लगाइसकेको छ । प्रहरीका अनुसार टेलिग्राममा पुरुषहरूलाई भन्दा महिलालाई बढी सुविधा दिएको जस्तो गरी ठग्ने गरिएको छ ।