टिकेन शेयर लगानीकर्ताको उत्साह, आज नेप्से १७.३८ अंकले घट्दा करिब २ अर्बको कारोबार

टिकेन शेयर लगानीकर्ताको उत्साह, आज नेप्से १७.३८ अंकले घट्दा करिब २ अर्बको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
लगानीकर्ताले तिर्नु पर्ने पूँजीगत लाभकर सम्बन्धमा सरकार र लगानीकर्ताबीच हिजो सहमति भएपश्चात उच्च अंकले वृद्धि भएको शेयर बजारमा आज भने त्यो उत्साह टिक्न सकेन । साताको कारोबारको दोस्रो दिन सोमवार नेप्से १७.३८ अंकले घटेर १ हजार ९ सय ०१ दशमलब ९९ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से अंकले ५३.०३ बढेर १ हजार ९ सय १९ दशमलब ३७ विन्दुमा बन्द भएको थियो ।

आज नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । रिभर फल्स पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९४.८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज पाँच कम्पनीको शेयरमुल्यमा ४ प्रतिशत भन्दा बढिको गिरावट आएको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १९ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।