विन नेपाल लघुवित्तले लाभांश प्रस्ताव बिनै आह्वान गर्यो साधारणसभा

विन नेपाल लघुवित्तले लाभांश प्रस्ताव बिनै आह्वान गर्यो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले फिस स्टेशन एण्ड रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा सभा गर्ने निणर्य गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरू गर्न प्रबन्धपत्र संशोधनको प्रस्तावसमेत पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्य पनि सभाले गर्नेछ ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । गत वर्ष ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार ५ देखि १० गतेसम्म बुक क्लोज गर्दै छ । यसको आधारमा असार ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।