बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ्ग गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडा गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८ तथा सिमपानी गाविस वडा नं ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
प्रतिक्रिया