डिजिटल बैंकिङ्ग बढेसँगै घट्दैछ बैंकमा कर्मचारीको ‘डिमान्ड’


काठमाडौं – बैंक तथा वित्तीय संस्थाले ‘डिजिटल’ कारोबारलाई बढवा दिन थालेसँगै कर्मचारीको माग समेत घट्न थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतीय कारोबारलाई प्राथमिकतामा राख्न थालेसँगै कर्मचारीको माग नै घट्न थालेको हो । बैंक तथा वित्तीय संस्थाहरूले अधिकांश सेवाहरू अनलाइनमार्फत प्रवाह गर्न थालिसकेका छन् । यहीकारण, बैंकहरुले डिजिटल पूर्वाधार विकासमा लगानी बढाइरहेका छन् । जसको परिणाम समेत देखिन थालिसकेको तथ्याङ्कहरूले देखाउँछ ।

कोरोना महामारीयता बैंकिङ्ग क्षेत्र डिजिटाइजेसनमा जाने लहर नै चलेको छ । यसैक्रममा बैंक तथा वित्तीय संस्थाहरूले इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्गमा लगानी गर्दै भौतिकरुपमा हुने परम्परागत कारोबारलाई विस्थापित गर्दै लगेका छन् । परम्परागत बैंकमा अधिकांश काम गर्न कर्मचारी आवश्यक हुन्थ्यो भने डिजिटल बैंकिङ्गमा हरेक जसो काम डिजिटल माध्यमबाट गरिन्छ ।

जसले कर्मचारीको आवश्यकता पनि कम हुँदै गएको छ । यहीकारण, बैंक तथा वित्तीय संस्थाले कर्मचारीको माग नै गर्न छाडेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार पछिल्लो चरण डिजिटल माध्यमबाट हुने कारोबार भौतिकरुपमाभन्दा बढी छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को जेठसम्म मोबाइल बैंकिङ्गको माध्यमबाट ४ खर्ब ४८ अर्ब ८० करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, इन्टरनेट बैंकिङ्गबाट २० अर्ब ८४ करोड बराबर र मोबाइल वालेटबाट ४५ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ । यी तथ्यांकले पनि डिजिटल कारोबार वृद्धि भएको देखिन्छ । इन्टरनेट बैंकिङ्ग र क्यूआर कोडमार्फत हुने भुक्तानीले पनि परम्परागत बैंकिङ्गलाई पछि पारेको तथ्यांक राष्ट्र बैंकको छ । बैंकको शाखाबाट हुने कारोबारमा नै कमी आउँदा बैंकका शाखाहरूमा कर्मचारीको आवश्यकता कम हुने विज्ञहरू बताउँछन् ।

नेपाल बैकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा हाल नयाँ शाखा खुल्न छाडेकाले पनि बैंकहरुले कर्मचारी माग नगरेको बताउँछन् । बैंकहरु डिजिटल कारोबारमा अग्रसर बन्दा नयाँ शाखा विस्तारको काम प्रभावित बनेको छ । सञ्चालनमा नै रहेका शाखा समेत बन्दको प्रक्रियामा कतिपय बैंक छन् ।

यहीकारण, नयाँ शाखा खुल्न नसक्दा कर्मचारीको माग नै घटेको शर्माको भनाई छ । ‘हाल नयाँ शाखा विस्तार गर्नुपर्ने अवस्था छैन’, उनले बैंकिङ्ग समाचारसँग भने, ‘ठुला–ठुला मर्जरले गर्दा कर्मचारी र शाखा समायोजन भइरहेका छन् । यसबाहेक मर्जरका कारण डिजिटल पूर्वाधारमा गर्ने लगानी समेत बढेको छ ।’

यहीकारण, बैंक तथा वित्तीय संस्थामा कर्मचारी माग पहिलाकोभन्दा कम भएको बताउँदै शर्माले जागिर छाड्नेहरू पनि उति नै रहेको जानकारी दिए । जागिर छाड्नेहरूको संख्या बढ्दो क्रममा र नयाँ माग नहुँदा यो क्षेत्रमा कर्मचारीको संख्या नै घट्दै गइरहेको छ ।

घट्न थाल्यो बैंकर्स कर्मचारीको संख्या

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा काम गर्नेहरूको संख्या अघिल्लो वर्षको तुलनामा ३ हजारभन्दा बढीले घटेको छ । तथ्यांकअनुसार २०८० को असार मसान्तको तुलनामा बैंकका कर्मचारीको संख्या २०८१ को असार मसान्तसम्मको अवधिमा ३ हजार १४३ ले घटेको छ ।

यसको कारण बैंक तथा वित्तीय संस्थामा भइरहेको ‘बिग मर्जर’सँगै डिजिटल कारोबार बढ्नु समेत हो । संघको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ असारसम्ममा वाणिज्य बैंकहरुमा ४१ हजार ८१९ जना कर्मचारी कार्यरत छन् । जबकि, २०८० असार मसान्तसम्मको अवधिमा ४४ हजार ९६२ जना कर्मचारीले बैंकमा जागिर गर्दै आइरहेका थिए ।

बैंकको जागीर छाडेर विदेश जानेहरू बढी रहेको यस क्षेत्रका विज्ञहरूको बुझाई छ । तर, जागिर छाड्नेहरूको संख्यासँगै नयाँ ‘हायर’ समेत बढ्नुपर्ने हो । जुन, डिजिटल बैंकिङ्गको बढ्दो प्रयोग र यसतर्फ बैंकहरुको लगानीका कारण हुन सकेको छैन । यसबाहेक, कतिपय बैंकहरुले ‘नियो’ बैंककैरुपमा आफ्नो सेवा प्रस्तुत गर्न थालिसकेका छन् । जसकारण, शाखाहरूमा न्यून संख्यामा कर्मचारी राख्ने गरेका छन् ।

यसबाहेक, बैंकले कृत्रिम बौद्धिकता (एआई)को बढ्दो प्रयोग पनि कर्मचारीको संख्या घट्नु र नयाँ कर्मचारीको डिमान्ड नहुनु प्रमुख कारण हो । किनभने, सबैजसो बैंकहरुले आफ्नो वेबसाइटमा नै एआईको प्रयोग गर्दै आइरहेका छन् । जसकारण, बैंकमा सोधपुछका लागि पुग्ने सेवाग्राहीको संख्या घट्दो छ र यसको प्रभावस्वरुपम बैंकहरुको सहायता कक्षमा समेत भिडभाड पातलिएको छ ।

विशेषगरी बैंक तथा वित्तीय संस्थामा क्यासियर, विवरण परिपूर्ति र ग्राहक सेवा जस्ता भूमिकामा कर्मचारीको माग कम भएको छ। डिजिटल बैंकिङ्गले ग्राहकलाई सुविधा दिँदा कर्मचारीको माग घट्दो छ । जसका कारण नयाँ जनशक्तिले नयाँ अवसर गुमाउन थालेका छन् ।

मञ्जुश्री फाइनान्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेजराज तिमिल्सिना डिजिटलाइजेनसका कारण बैंक तथा वित्तीय संस्थामा कर्मचारीको माग घटेको बताउँछन् । ‘पहिला बैंक तथा वित्तीय संस्थामा अत्यधिक जनशक्ति चाहिने गरेको थियो । तर, अहिले डिमान्ड कम छ’ उनले भने, ‘शाखा पनि खुल्ने क्रम रोकिएको छ । एआई, डिजिटाइजेसनमा जाँदा यसले मानवीय जनशक्तिको माग नै घट्ने अवस्था सिर्जना भएको छ ।’