शेयर बजारको घट्ने क्रम जारीः ३.३४ अंकले घटेको नेप्सेमा साढे ७२ करोडको कारोबार

शेयर बजारको घट्ने क्रम जारीः ३.३४ अंकले घटेको नेप्सेमा साढे ७२ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घट्ने क्रम आज पनि जारी रहेको छ । आज नेप्से ३.३४ अंकले घटेर १ हजार ८ सय १८ दशमलब ३१ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से १६.९६ अंकले घटेर १ हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।

यस्तै, आज नेप्सेमा गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आज ७२ करोड ४९ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । हिजो नेप्सेमा ९० करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ९६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ कम्पनीको शेयरमूल्य घटेको छ, १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ८.३४ रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार आज सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज ३ करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।