बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगातारको घट्ने क्रम अन्ततः आज रोकिएको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से १०.६६ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ३६ विन्दुमा पुगि बन्द भएको हो । सोमवार नेप्से १६.९३ अंकले घटेर १ हजार ८ सय ३३ दशमलव ६९ विन्दुमा भएको थियो ।
त्यस्तै, नेप्सेमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकममा भने गिरावट भएको छ । नेप्सेमा आज ७७ करोड ४७ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । सोमवार नेप्सेमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ६.४७ प्रतिशतले बढेर प्रतिकित्ता २६९.८० रुपैयाँ पुगेको छ ।
नेप्सेमा युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयरमूल्य ८.६८ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया