विजय लघुवित्तको नाफा घट्यो, इम्पेरमेन्ट चार्ज र निष्क्रिय कर्जा बढ्दा नाफामा कमि

विजय लघुवित्तको नाफा घट्यो, इम्पेरमेन्ट चार्ज र निष्क्रिय कर्जा बढ्दा नाफामा कमि


बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ९ करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा रू. १७ लाख ६१ हजारमा सिमित भएको हो ।

चालू आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज रू. ४५ लाख ९९ हजार रहेकोमा चालू आवमा बढेर रू. ६ करोड ३२ लाख पुगेको छ । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ९४ दशमलव ३३ प्रतिशत घटेको छ । 

त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ४ दशमलव ६३ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ९१ प्रतिशत पुगेको छ । यस कारण पनि नाफा प्रभावित भएको हो । 

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९५ पैसा रहेकोमा चालू आवमा १ रुपैयाँ १० पैसामा झरेको हो । 

त्यस्तै चालू आवमा कम्पनीको तरलता अनुपात ४ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८६ दशमलव ४४ रहेको छ । चुक्ता पूँजी रू. ३२ करोड रहेकोमा कम्पनीले जगेडामा रू. १४ करोड १६ लाख र रिटेन्ड अर्निङमा रू.१३ करोड ४९ लाख सञ्चिती गरेको छ ।