नेपाल रिपब्लिक मिडियाको आईपीओ निष्काशनको मिति तय, आईपीओ बिक्री गर्ने पहिलो मिडिया बन्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ जारी गर्ने मिति तय गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने मिति तय गरेको हो । यससँगै, नेपाल रिपब्लिक मिडिया लिमिटेड आईपीओ निष्काशन गर्ने नेपालको पहिलो मिडिया हाउस बनेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन निष्काशन गर्न लागेको हो । सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । त्यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्नेछ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा बैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, सर्वसाधारणले जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ८ गतेसम्म लम्बिनेछ ।

यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।