‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को इकाईमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने आज बैशाख २० गते अन्तिम दिन रहेको छ ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो । सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनुपर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यसको अवधि १० वर्षको रहेको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनको प्रयोग गरी आवेदन दिन सक्नेछन् ।