बैंक तथा वित्तीय संस्थामा गैरकानुनी क्रियाकलाप गर्नेलाई तत्कालै मुद्दा चलाउने सीबीफीनको चेतावनी , पहिलो टार्गेटमा दुर्गा प्रसाईं 

बैंक तथा वित्तीय संस्थामा गैरकानुनी क्रियाकलाप गर्नेलाई तत्कालै मुद्दा चलाउने सीबीफीनको चेतावनी , पहिलो टार्गेटमा दुर्गा प्रसाईं 


बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले गैरकानुनी क्रियाकलाप गर्ने विरुद्ध व्यक्ती तथा संघसंस्थाहरुविरुद्ध तत्कालै मुद्दा चलाउने निर्णय गरेको छ । परिसंघले एक सूचना जारी गर्दै ऋण नतिर्ने, अरुलाई पनि ऋण नर्तिन उस्काउने तथा बैंक वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने, सम्पत्ति तोडफोड गर्न संलग्नलाई तत्कालै मुद्दा चलाउने र हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जाहेरी दिने निर्णय गरेको हो । संगठित रुपमा नै केही व्यक्ति, संस्था र समूहले बैंक तथा वित्तीय संस्थाको गरिमा र प्रतिष्ठामा नै आँच पुर्याएको गतिविधि गरिरहेको परिसंघले जनाएकोे छ । यस्ता क्रियाकलाप रोक्नको लागि सहजीकरण गरिदिन पनि परिसंघले सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।

परिसंघको यो निर्णयसँगै बैंक तथा वित्तीय संस्थाविरुद्धको देशव्यापी आन्दोलन गरिरहेका व्यवसायी दुर्गा प्रसाईं पहिलो टार्गेटमा परेका छन् । यसो त प्रसाईंले देशव्यापी रुपमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको नेतृत्व गर्नेक्रममा  बैंक तथा वित्तीय संस्थाका ऋणीहरुलाई भाषण गरेर उत्तेजित पार्ने काम गर्दै आएका छन् । कतिपय भाषणका क्रममा उनले बैंकरहरुलाई जहाँ भेट्यो त्यही कालोमोसो दल्नेदेखि, ठिक पार्छौं जस्ता अभिव्यक्ति दिँदै आएका छन् । यतिसम्म कि कतिपय ठाउँमा असुलीका लागि जाँदा ऋणीहरुले दुर्गा प्रसाईंको अभियानमा छु, अहिले ऋण तिर्दिन’ भन्ने सम्मका अभिव्यक्ति दिने गरेका छन् । जसका कारण बैंकिङ प्रणालीमा ठूलो चुनौती थपिएको छ ।

अहिले झन् बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनका नाममा ऋणीहरुलाई कर्जाको साँवा–नतिर्न दुरुत्साहन गर्नेहरु बढेका छन् । अब यस्तो गतिविधि गर्नेविरुद्ध मुद्धा चलाउने निर्णय भएको छ ।

त्यस्तै, परिसंघले कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैंकि व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने काम नगर्न समेत अनुरोध गरेको छ ।

परिसंघले पनि विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेलाई कानुनतः जस्तोसुकै कठोर कद चाल्न पनि तयार रहेको जनाएको छ ।

\"\"