शेयर बजारमा वृद्धि टिकेनः आज नेप्से १३.६८ अंकले घट्दा ८४ करोडको कारोबार

शेयर बजारमा वृद्धि टिकेनः आज नेप्से १३.६८ अंकले घट्दा ८४ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो छाएको हरियाली आज टिक्न सकेन । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १३.६८ अंकले घटेर १ हजार ८ सय ९२ विन्दुमा पुगेर बन्द भएको हो । मंगलवार नेप्से १७.३६ अंकले बढेर १ हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि सामान्य गिरावट भएको छ । नेप्सेमा आज ८४ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेमा ८८ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीको शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज जन उत्थान सामुदायिक लघुवित्तको शेयरमूल्यमा सबै भन्दा उच्च वृद्धि भएको छ । यसको शेयरमुल्य ३.२५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।