नेप्सेमा आज दोहोरो अंकको गिरावट, २३.६४ अंकले बजार घट्दा ९२ करोडको मात्र कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि घट्ने क्रम जारी नै रहेको छ । साताको कारोबारको दोस्रो दिन आज सेमवार नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय ८ दशमलव ०४ विन्दुमा बन्द भएको छ । हिजो आइतवार नेप्से २.८० अंकले घटेर १ हजार ९ सय ३१ दशमलव ६८ बिन्दुमा बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट भएको छ । नेप्सेमा आज ९२ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । आइतवार नेप्सेमा ९७ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५७३.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ६०७ रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १८७.६० रुपैयाँ पुगेको छ ।          

नेप्सेका अनुसार आज सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.२५ प्रतिशतले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड २ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।