बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज नयाँ वर्षको पहिलो कारोबार दिनमा पनि उत्साह आउन सकेन । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से २.८० अंकले घटेर १ हजार ९ सय ३१ दशमलव ६८ विन्दुमा बन्द भएको छ । पछिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से २९.०७ अंकले बढेर १ हजार ९ सय ३४ दशमलव ४७ बिन्दुमा बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा सामान्य अंकको गिरावट भएसँगै कारोबार रकममा भने उच्च अंकको गिरावट भएको छ । नेप्सेमा आज ९७ करोड ४५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बिहिवार नेप्सेमा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका ७० कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४३०.७० रुपैयाँ पुगेको छ । यसका साथै मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १७०.६० रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५१.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज एशियन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टि होटल लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया