अर्थले जारी गर्यो निवृत्तभरणका लागी नयाँ कार्यविधि, डिजिटल माध्यमबाटै खाता नविकरण


काठमाडौं – अर्थमन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । अर्थमन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम यो कायएविधि तयार गरेको हो ।

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि, २०८२ मन्त्रालयले स्वीकृत गरेको मिति देखि लागू हुने उल्लेख छ । खाता खोल्न लेखी आएमा बैंकले राष्ट्रिय परिचयपत्र नम्बर र अन्य आवश्यक कागजात लिई शून्य मौज्दातमा निवृत्तभरण भुक्तानी खाता खोलिदिनु पर्ने उल्लेख छ । तर बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा नब्वे वर्ष माथिका जेष्ठ नागरिक भनी सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस भएका व्यक्ति र भारतीय निवृत्तभरकको हकमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नहुने उल्लेख छ ।

अर्थले भर्चुगल माध्यमबाट खाता नवीकरण गर्नसक्ने बताएको छ । निवृत्तभरण खाता सक्रिय गराउन नसक्ने निवृत्तभरकले बैंकमा सञ्चालनमा रहेको विद्युतीय प्रणाली मार्फत भर्चुअल उपस्थिति जनाई दफा ४ को उपदफा १ बमोजिमको अवधिको लागि निवृत्तभरण खाता पुनः सक्रिय गराउन सक्नेछन् भने भर्चुअल माध्यमबाट उपस्थित हुने निवृत्तभरकको आधिकारिकता पहिचान गरी बैंकले निवृत्तभरण खाता पुनः सुचारु गर्नुपर्ने उल्लेख छ ।

यस्तै, निवृत्तभरण खाता पुनः सक्रिय गराउँदा बैंकलाई तिर्नुपर्ने सेवा शुल्क सम्बन्धित निवृत्तभरकले व्यहोर्नु पर्नेछ भने निवृत्तभरकको निवृत्तभरण रकम र सोमा प्रचलित कानून बमोजिम थप हुने रकम समेत हिसाव गरी निवृत्तभरण व्यवस्थापन कार्यालयले प्रत्येक महिनाको तेस्रो हप्तासम्ममा निवृत्तभरण भुक्तानी खातामा रकम जम्मा गरिदिनु पर्नेछ । यस कार्यविधि बमोजिम निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले हिसाब मिलान गर्ने प्रयोजनको लागि निवृत्तभरकको खाताबाट सरकारी कोषमा रकम फिर्ता गर्न वा समायोजन गर्न अनुसूची–४ बमोजिमको ढाँचामा बैंकलाई लेखी पठाउन सक्ने उल्लेख छ ।

बैंकले पाउने सेवा शुल्क पनि मन्त्रालयले निर्धारण गर्नेछ। साथै, हिसाब मिलान प्रयोजनका लागि सरकारी कोषमा रकम फिर्ता गर्न वा समायोजन गर्न बैंकलाई अनुसूची–४ अनुसार जानकारी दिइनेछ। निवृत्तभरण खाताको स्टेटमेन्ट बैंकले दिनु पर्नेछ वा प्रणालीमा हेर्न मिल्ने पहुँच उपलब्ध गराउनु पर्ने उल्लेख छ।

निवृत्तभरक वा पारिवारिक निवृत्तभरण पाउने व्यक्तिको मृत्यु भएमा, हकवालाले ३५ दिनभित्र निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ ।