ब्याजदर घट्ने भएसँगै नेप्से उच्च वृद्धि भई १९ सय बिन्दु माथि, ९२.२२ अंकले नेप्से बढ्दा करिब २ अर्बको कारोबार

ब्याजदर घट्ने भएसँगै नेप्से उच्च वृद्धि भई १९ सय बिन्दु माथि, ९२.२२ अंकले नेप्से बढ्दा करिब २ अर्बको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज उच्च अंकको वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो ब्याजदर घटाउने घोषणा गरेसँगै नेप्सेमा सकारात्मक प्रभाव परेको हो । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ९२.२२ अंकले बढेर १ हजार ९ सय ६३ दशमलव ५५ विन्दुमा बन्द भएको छ । हिजो मंगलवार नेप्से २७.३१ अंकले बढेर १ हजार ८ सय ७१ दशमलव ३३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि उच्च बढेको छ । आज कारोबार रकम सुधार भई करिब २ अर्ब पुगेको छ । नेप्सेमा आज १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेमा ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २१८ कम्पनीको शेयरमूल्य बढेको छ ।

नेप्सेका अनुसार १७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेर सर्किट लेभलमा पुगेको छ । 

नेप्सेका अनुसार आज डिबेञ्चरका लगानीकर्ताहरुले भने गुमाएका छन् । आज तिन वटा डिबेन्चरको मुल्यमा मात्र गिरावट भएको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ११ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।