कोशी प्रदेश

ऋण असुलीमा बोलाएर साहारा साकोसका सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीद्वारा दुर्व्यवहार


विराटनगर – ऋण असुलीका लागि गएका साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मधुमल्ला सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीले गालीगलौज गरी जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेका छन् । झापाको विर्तामोड नगरपालिका–२ चारपाने केन्द्रीय कार्यालय रहेको साहारा नेपाल सहकारीले मोरङको मिक्लाजुङ गाउँपालिका–२ निवासी दुर्गामाया लिम्बु र माया मगरले मधुमल्ला सेवा केन्द्रका सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशिला लामिछाने विकमाथि आइतबार दिउँसो १ बजे दुर्व्यवहार भएको थियो ।

लिम्बु र मगरले उनीहरूलाई गालीगलौज गर्दै जुक्ताको माला लगाइदिएर दुर्व्यवहार गरेका हुन् । दुव्र्यवहारको घटनाप्रति साहारा साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले दुःख व्यक्त गर्दै संलग्न व्यक्तिहरूलाई कडाभन्दा कारवाही गर्न माग गरेका छन् । त्यस्तै घटनाको सहारा नेपालका कर्मचारीहरू समेत विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।

सेवा केन्द्र प्रमुख राई र फिल्ड मेनेजर लामिछाने कर्जा नविकरण गर्ने शिलशिलामा ऋणीको घरमा पुगेका थिए । ऋणी दुर्गामाया लिम्बु र माया मगरले कागजपत्र तयार गरी घरमै आएर कर्जा नविकरण गर्न अनुरोध गरेको थिए । कर्मचारीहरूलाई कुर्सीमा राखी कुराकानी गर्न थालेपछि उनीहरूले पूर्व योजना अनुसार दुर्व्यवहार गरेको र दुव्र्यवहारको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

एकिकृत कर्मचारी संगठन सहारा नेपाल साकोसका अध्यक्ष यादव प्रसाद घिमिरेले नियम अनुसार कार्य सम्पादन गर्ने क्रममा कर्मचारीहरूमाथि नियोजित रुपमा घटना घटाएको भन्दै निन्दा गरेका छन् । उनले तत्कालै घटनाको छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासनसँग आग्रह गरेका हुन् । यसैबीच, सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा सहकारीले संलग्न दुवैजना विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दर्ता गरेको छ । जाहेरीपछि प्रहरीले घटनाको छानबिन सुरु गरेकोले संलग्न व्यक्तिहरूलाई पक्राउ गरिने जनाएको छ ।