बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तिय संस्थाको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न भएको हो ।
साधारणसभाले आ.व. २०७८/७९ को नाफाबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, २०७९ असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७८/७९को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ । उक्त साधारण सभाले आ.व. २०७९/८० मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।
सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने प्रस्तावलाई स्वीकृति दिएको छ । दुई संस्थाबीच शेयर आदान प्रदान अनुपात १ः१ (एक शेयर बराबर एक शेयर) लाई स्वीकृत प्रदान गरेको छ ।
साधारण सभाले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त एक आपसमा गाभ्ने/गाभिने (मर्जर गर्ने) कार्य भएपछि हुने संस्थाको ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना लगायत थप परिवर्तन हुने विषयमा प्रबन्धपत्र र नियमावलीमाको आवश्यक दफा, उपदफा तथा नियमहरू संशोधनको लागि समेत स्वीकृति प्रदान गरेको छ । उक्त सभाले लघुवित्तको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया