बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ नयाँमिलमा बिद्युतिय सवारी साधनका लागि नेपालकै ठूलो चार्जिङ स्टेशन स्थापना गरिएको छ । कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त चार्जिङ स्टेशनमा एक पटकमा १४ वटा सम्म सवारी साधन चार्ज गर्न सकिने क्षमता रहेको छ ।
स्टेशनमा १ हजार केभिए क्षमताको नेको ट्रान्सफर्मर जडान गरिएको र ७ वटा चार्जिङ मेसिनबाट दोहोरो सेवा प्रदान गरिएको शसिला मोटर्स प्रालिका महाप्रबन्धक अशोक सुबेदीले जानकारी दिए । चार्जिङ स्टेशनको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मुलुकको आर्थिक बिकासका लागि ईन्धन आयात घटाउनु पर्नेमा जोड दिँदै यसका लागि स्वदेशमा उत्पादित बिद्युत् खपत बढाउनुपर्ने बताए ।
यस्तै, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बिद्युतिय सवारी साधनले प्रदान गर्ने सेवाको गुणस्तर उच्चस्तरको हुनुपर्ने बताउदै अघोषित लोडसेडिङको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । अध्यक्ष खरेलले चार्जिङ स्टेशनमा अटो वर्कसप र अटो पार्टसको व्यवस्थासमेत गरिनुपर्ने बताए ।
सोही अवसरमा शसिला मोटर्स प्रालिबाट हाईगर कम्पनीको बिद्युतिय गाडी खरिद गर्ने ३ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिएको थियो । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ।






About Us
प्रतिक्रिया