दोल्ती पावर कम्पनीको आईपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने

दोल्ती पावर कम्पनीको आईपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
दोल्ती पावर कम्पनी लिमिटेडले आज (चैत २८ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बाँडफाँड गरेपश्चात अब सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको हो । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री गर्न लागिएको हो । यसअनुसार सर्वसाधारण लगानीकर्ताहरुले जम्मा १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ विक्री बन्द छिटोमा आगामी वैशाख ३ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि आगामी वैशाख १२ गतेसम्म विक्री लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।