बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ क्यापिटल लिमिटेडले आजदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाई निष्कासन गरेको छ । क्यापिटलले यस योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो ।
सोमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २०८० बैशाख १० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ६ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ । यो एक बन्दमुखी योजना हो । यसको अवधि १० वर्षको रहेको छ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ प्लस (एएमसी ३ प्लस) रेटिङ्ग प्रदान गरेको छ । यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्दछ । त्यसैगरी, कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
प्रतिक्रिया