काठमाडौं – क्रिप्टो कारोबार गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी घर भई हाल ललितपुरको सानेपामा बस्ने ४३ वर्षीय रुपेश कुमार गुप्ता र भारतको बिहार राज्य पूर्वी चम्पारण बिजबानी घर भई हाल ललितपुरको सानेपा बस्ने गरेका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको ललितपुर महानगरपालिका– २ सानेपा कालो पुल स्थित केही व्यक्तिहरूले अवैध हुण्डी कारोबार गरेको तथा क्रिप्टोकरेन्सी (अभौतिक) मुद्राको कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा उनीहरूलाई फेला परेको थियो । ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई सानेपाबाट पक्राउ गरेका प्रहरीले जनाएको छ ।
गुप्ताले सञ्चालन गरेको राजतिर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा गैर कानुनी हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा तपशीलमा ब्युरो सामान र रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता,२०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर र वन्यजन्तु सम्बन्धी कसुर मुद्दा दर्ता गरेको छ । उनीहरू मध्ये गुप्ताबाट ५ थान मोबाइल, नेपाली रुपैयाँ ८ लाख २० हजार, १० हजार भारु, सीसीटिभि डिआरभी १ थान र कुमारबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने बस्तु (७४ ग्राम) १ थान बरामद गरिएको छ ।



About Us
प्रतिक्रिया