बुटवल – अविरल वर्षाका कारण दाउन्नेमा सडक भासिदा बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा गएराति देखिनै यातायात पूर्णरुपमा बन्द भएको हो । लगातारको वर्षापछि खुर्सानी खोला नजिक सडक भासिएसँगै सोही ठाउँमा लु १ क ५८२७ नम्बरको ट्रक पनि फसेको छ । दाउन्नेको खुर्सानी खोला नजिकै करिब ४ फिट सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरुलाई बर्दघाटको टिसिएन चोकमा र पश्चिमतर्फ जाने सवारी साधनहरु दुम्किबासमा रोकिएका छन् । सडक खुलाउने प्रयास भए पनि वर्षाका कारण केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसो सम्ममा दुई तर्फी खुलाउने गरी काम भइरहेको सडक आयोजनाले सूचना प्रकाशन गरेर जनाएको छ ।
बुटवल–नारायणगढ सडक खण्डको अधिकांश स्थानमा एकतर्फी सडक कालोपत्र भई यात्रा सहज भए पनि दाउन्नेको १४ किलोमिटर सडक खण्डको पूर्वीखण्ड अझै सकसपूर्ण रहेको छ । खुर्सानी खोलामा पटकपटक सडक भासिदा यो सडक अवरुद्ध हुँदै आएको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम भइरहे पनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।



About Us
प्रतिक्रिया