बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि आगामी वैशाख १६ गते वार्षिक साधारणसभा बोलाएका छन् ।
यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेको थियो । प्रारम्भिक सम्झौताअनुसार मर्जर पश्चात् बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने सहमति बनेको छ । दुबै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछन् ।
खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरियामा विहान १० बजे सभा गर्ने छ भने धौलागिरी लघुवित्तले भने धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र बाग्लुङमा विहान १० बजे सभा गर्ने छ । मर्जर प्रस्तावसँगै दुबै कम्पनीहरूले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचत समेत सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू समेत सभाले पारित गर्नेछ ।
यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरी लघुवित्तले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
प्रतिक्रिया