काठमाडौं – ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा संलग्न अर्को व्यक्तिलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको सोल्टीमोड बस्ने सुवास खत्री रहेका छन्। खत्रीलाई ब्युरोले १५ गते नै पक्राउ गरेको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हाेबिन्द्र बोगटीले बैंकिङ्ग समाचारलाई जानकारी दिए । खत्री यसअघि पनि हुण्डी र ठगीको कसुरमा पक्राउ परेका थिए ।
मितेरी सहकारीको १४४ जना बचतकर्ताहरु र सञ्चालकहरुको समेत गरी उनीहरुले १४ करोडभन्दा बढी रकम ठगी गरिएको खुल्न आएको थियो । यस प्रकरणमा थप अनुसन्धान गर्नका लागि ब्युरोले विशेष टाेली खटाएको सिआईबीका प्रवक्ता युवराज खड्काले बताए । हुण्डी कारोबारका माध्यमबाट उनीहरूले सहकारी ठगीको रकम कम्बोडिया पठाइएको शंकाकाे आधारमा अनुसन्धान प्रक्रिया सुरु गरिएको सिआईबीका एक अधिकृतले बताएका छन् ।
अधिकृतका अनुसार उनीहरूलाई विभिन्न केन्द्रबाट अनुसन्धान गरिरहेको छ । भण्डारी र खत्रीलाई सोधबुझ गर्नेक्रममा ज्योति गुरुङ, सुरन शाक्यहरू समेत संलग्न रहेको अधिकृतले बताए । यसअघि मितेरी सहकारी ठगी गर्ने बर्दियाको बाँसगढी ७ का वर्षीय ज्योतिबहादुर भण्डारीलाई कम्बोडीयाबाट असार ४ गते पक्राउ गरी नेपाल ल्याइएको थियो । उनीविरुद्ध ‘रेड नोटिस’ २०८१ कार्तिक १३ गते जारी गरिए पश्चात् अनुसन्धान गर्ने प्रक्रियामा फेला पारी पक्राउ गरिएको थियो ।
भण्डारीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४१ ठगी सम्बन्धी कसुर र परिच्छेद २५ को दफा २७३ कीर्त्ते गर्न नहुने कसुर लागेको थियो। साथै, उनीविरुद्ध जिल्ला परिसर काठमाडौंमा विभिन्न मितिमा दर्ता भएका तीन वटा ठगी मुद्दा समेत रहेको ब्युरोले जनाएको छ।
साथै, २०८१ असोज ६ गते नै सो रकम अपचलनमा संलग्न रहेको अभियोगमा गुरुङ, सुरन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध पक्राउ पुजी जारी भैसकेको छ । यस सहकारी ठगी प्रकरणमा काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको श्रीमती ज्योति पनि संलग्न रहेको खुल्न आएको थियो। उनी २०७० सालमा सहकारीमा लेखा प्रबन्धक हुँदै महाप्रबन्धक बनेकी थिइन् ।
ज्योतिले २०७६ मा बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी थिइन् । सहकारीबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर उनको छानबिन गरिएको थियो । ‘मितेरी सहकारीमा प्रस्तुत रकम हिनामिना छानबिन समिति’ले २०७९ फागुन पहिलो साता बुझाएको प्रतिवेदनमा गुरुङले १२ करोड ५० लाख ठगेको उल्लेख भएको थियो । २०७६ माघबाट नै फरार रहेकी गुरुङ हालसम्म पनि सम्पर्कमा आएकी छैनन् ।
त्यस्तै, असार ४ गते पक्राउ परेका ज्योति बहादुर भण्डारीले सहकारीका सचिव कृष्ण बहादुर रानाको नाममा रहेको ग्लोबल आईएमई बैंकको इन्द्रचोक शाखामा पार्सल गरी ३३ करोड ११ लाख पठाइएको छु भन्दै ह्वटएपमा टोकनको फोटो पठाएको खुल्न आएको थियो । भण्डारीले विदेशबाट आएको पार्सल रकम लिनका लागि कमिसन तिर्नुपर्छ भनी विभिन्न नम्बर र नामका सहकारीका व्यक्तिहरूलाई समर्पक गरी ३ लाख ४४ हजार ठगी गरेका थिए । उनले दुई वटा राहदानी दुई थरीका नागरिकताको प्रयोग भएको खुल्न आएको ब्युरो जनाएको छ ।
एउटामा राहदानीको नम्बर १०५४८६८८ रहेको जसमा १५८८३ नम्बरको नागरिकतामा जन्मस्थान कास्की रहेको र अर्को राहदानीको नम्बर ११३६४६९१ रहेको त्यसमा १४८०३ नागरिकता नम्बर र जन्मस्थान बर्दिया रहेको खुलेकाे छ । भण्डारीले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही किर्ते गरेको नागरिकता तथा राहदानीलाई ठगी गर्न दुरुपयोग गरेको समेत सीआईबीको दाबी छ ।






About Us
प्रतिक्रिया