काठमाडौं – स्रोत नखुलेको हुण्डी रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर बस्ने २६ वर्षीय अनिल कुमार बर्णवाल, पर्साकै वीरगञ्ज ३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बाराको परवानीपुर बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीको साथबाट जिल्ला प्रहरीले २८ लाख २८ हजार रुपैयाँ हुण्डी कारोबारको रकम बरामद गरेको छ । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार गोप्य रूपमा आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई छुट्टाछुट्टै रूपमा पक्राउ गरी हुण्डी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान प्रक्रिया सुरु गरी सकिएको प्रवक्ता मिश्रले बताए ।
पक्राउ पर्नेहरू मध्यमा बर्णवाललाई पर्साको वीरगन्ज १० मकालु चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट कालो ब्यागमा लुकाएर राखिएको १ हजारको ३२८ थान नोट, ५ सयका १२१८ थान र १ सयका ३ सय गरी ९ लाख ४७ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । श्रीवास्तवलाई प्रहरीले वीरगन्ज ८ कृषि विकास बैंक लिंकरोडबाट पक्राउ गरिएको छ । उनको साथबाट झोलामा लुकाइ छिपाइ राखिएको १ हजार दरको ९७३ थान, ५ सयको १२१६ थान गरी जम्मा १५ लाख ८१ हजार र विभिन्न बैंकको चेक थान ८ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोनारलाई पर्साको रजतजयन्ती चोकबाट पक्राउ गरिएको थियो । प्रहरीले उनलाई ना.१६ प२३२८ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले १ हजारको २ सय थान र ५ सयको २ सय थान गरी ३ लाख रुपैयाँ बरामद गरेको थियो ।
उनीहरूलाई हुण्डी रकम सहित मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान गरी रहेको पर्सा जिल्ला प्रहरी प्रमुख मिश्रले बताए। जिल्ला प्रहरीले हाल निरन्तर रूपमा आर्थिक तथा वित्तीय अपराधमा संलग्न रहेका अपराधीहरू पक्राउ गर्दै आइरहेको पाइएको छ ।
उनीहरूले उक्त रकम कहाँबाट ल्याए कसरी ल्याए जस्ता विषयमा थप अनुसन्धान भई रहेको प्रवक्ता मिश्र बताउँछन् । पर्सा जिल्ला प्रहरी कार्यालयले पछिल्लो समयमा आर्थिक तथा वित्तीय अपराधका घटनाहरूमा थप क्रियाशील भई रहेको देखिएको छ।



About Us
प्रतिक्रिया