महुली लघुवित्तले १५% लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

महुली लघुवित्तले १५% लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत १४ गते बसेको संचालक समितिको बैठकले संस्थाको १०औं साधारण सभा यहि वैशाख ९ गते बस्ने निर्णय गरेको हो । लघुवित्तले २०८० बैशाख ९ गते शनिवार विहान ११ बजे महुली लघुवित्तको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने भएको हो ।

सभाले २०७९ असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सभामा प्रिमियममा एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव समेत पेश गर्नेछ । यसका साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ संस्थाले चैत २९ गते एकदिनका लागि बुकक्लोजको मिति ताकेको छ । यसर्थ चैत २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।