कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत १५ गते, बुधबार अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १६ गतेदेखि बुकक्लोज गर्ने भएकाले आज अर्थात चैत १५ गते सम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कालिका लघुवित्त वित्तीय संस्थाले चैत २९ गते, बुधबार, होटल टास्क इन्टरनेशनल प्रा.लि. को सभाहल, बुद्धचोक, पोखरामा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५४.५२ प्रतिशत र सर्वसाधारणको ४५.४८ प्रतिशत कायम गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाले चैत २८ गते, मगलबार, विजय विकास स्रोत केन्द्र, गैडाकोट, नवलपरासीमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले नयाँ सारथी लघुवित्तसँग एक बराबर एक शेयर स्वाप अनुपातमा मर्ज हुने, मर्जर पश्चात एफपीओ निष्काशन गर्ने, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।