काठमाडौं – भविष्य खोज्दै विदेशीने लहरको प्रभाव सरकारी जागिरमा समेत देखिन थालेको छ । नेपाल प्रहरी, नेपाली सेना, निजामती कर्मचारी लगायत सरकारी जागिर खान मरिहत्ते गर्नेहरुको जमात घट्नुको साथै सोही सेवामा कार्यरत राष्ट्र सेवकले नै जागिर छाडेर विदेशीने प्रचलन बढ्दो देखिएको हो ।
यसमध्ये नेपाल प्रहरीको जागिर छाडेर विदेशीन चाहनेको लहर देखिएको छ । देश र जनताको लागि शान्ति सुरक्षाका खट्ने गरी सरकाम गर्ने निकाय नेपाल प्रहरीमा नै जागिर छाड्नेको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको तथ्यांकले देखाएको हो ।
पछिल्लो पाँच आर्थिक वर्षमा मात्र ४ हजार ८ सय ४२ जना प्रहरीले जागिर छाडेको तथ्यांकले देखाएको छ । जुन संख्या अनिवार्य अवकाशबाट जागिर छाड्नेकोभन्दा बढी हो ।
हाल विभिन्न दर्जामा रहेका प्रहरीहरुको जागीर छाड्ने लहर नै चलेको छ । प्रहरीको जागिर २४ घण्टा नै ‘अर्लट’ रहनु पर्ने पेसा हो । जसले गर्दा अन्य क्षेत्रतर्फ ध्यान दिने समय नहुनु तथा सरकारले दिने सेवासुविधाले घरखर्च समेत चल्न नसक्ने गुणासो सुन्नमा आउँछ ।
सरकारी जागिरहरुमा सबैभन्दा बढी जागिर छाड्ने क्षेत्रको रुपमा नेपाल प्रहरीको रहेको देखिन्छ । सरकारले एक जवानलाई प्रहरीमा खटाउन विभिन्न तालिम दिने गर्छ । तर, तालिम लिएर दक्ष भएपछि उक्त जवानले प्रहरीको जागिर नै छाड्ने गर्छन् ।
जसले गर्दा प्रहरी जवान वा अन्य पदमा रहेका प्रहरीको लागि सरकारले गरेको खर्च घाटामा जाने गर्छ । तर, त्यसतर्फ अझै पनि सरकारले कुनै ध्यान दिन सकिरहेको अवस्था रहेको छैन् । प्रहरीको सेवा सुविधाहरुलाई मध्यनजरमा राखेर काम गर्दा जागिर छाड्नेको संख्यामा कमि आउने प्रहरी बताउँछन् ।
प्रहरीको तल्ला दर्जाका प्रहरीले कम तलबका साथै प्रहरीमाभन्दा अन्य क्षेत्रमा राम्रो अवसर पाएकाले जागिर छाड्ने लहर चलेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरिक्षक विनोद घिमिरे बताउँछन् । नेपाल प्रहरीमा २० वर्ष बिताएपछि पेन्सन दिने व्यस्वथा छ । प्रायले २० वर्ष सेवा सकेपछि पेन्सन आउने भएकाले प्रहरीको काम छाडेर अन्यत्र लाग्ने गर्छन् ।
‘पेन्सनमा दुई पक्षीय नीति नभएकाले गर्दा ३० वर्षसम्म नै प्रहरीमा बस्दैन् । २० वर्ष कार्यकालपछि पेन्सन एउटै किसिमको आउँने गर्छ । त्यसैले उनीहरुले जागिर छाड्ने गर्छन्,’ उनले भने, ‘‘प्रहरीको पेन्सनमा कुनै भेदभावको अवस्था पनि छैन्, पेन्सन फकेका जुनसुकै तहका व्यक्तिहरुले पनि एउटै प्रकारको सेवा सुविधा पाउँने भएकाले पेन्सन पाकेपछि प्रहरीका जागिरेले काम छाडेने गरेका छन् ।’
उनका अनुसार यस क्षेत्रमा भन्दा अन्य क्षेत्रमा बढी कमाउँन सकिन्छ । प्रहरीको जागिर छाडेर विदेशीनेक्रम बढ्दो अवस्थामा देखिएको छ । अन्य सिप सिक्दासिक्दै प्रहरीमा नाम निस्केपछि उत्कृष्ट सेवासुविधाको आसमा जागिर नै छाडेर पलायन हुने गरेको तथ्यांकले देखाउँछ ।
जागिर छाड्नेहरुमा पनि सबैभन्दा धेरै प्रहरी जवान र प्रहरी हवल्दार छन् । घरायसी कारण, विदेश, अन्य क्षेत्रमा जागिर र पेन्सन आउँने भएपछि जागिर छाड्नेहरुको संख्या बढी भएको प्रवक्ता घिमिरेले बताए । प्रहरीको सबैभन्दा तल्लो दर्जा प्रहरी जवानको जसको न्युनतम तलब जम्मा २६ हजार मात्र छ । उक्त रकमबाट परिवारको जिम्वेवारी उठाँउन नसक्निे अवस्थाको सिर्जना भएपछि उनीहरुले प्रहरीको काम छाडेर अन्य क्षेत्रतर्फ लाग्ने गरेका छन् ।
उक्त रकमले परिवारको अवश्यकता पुरा गर्न सकिने अवस्था नहुने भएकाले गर्दा जागिर छाडेर अन्य क्षेत्रमा लाग्ने र विदेशीने गर्छन् । गत वर्षको तुलनामा यस वर्ष प्रहरीको जागिर छाड्नेहरुको संख्यामा वृद्धि भएको देख्न सकिन्छ । महँगी अनुसारको तलब, भत्ता सुविधा, नबढाएकाले प्रहरीको काम छाड्नेहरुको संख्या बढ्ने अवस्थाको सिर्जना भएको प्रहरीहरु बताउँछन् ।
प्रहरीको आधारभुत तलब बहेक अन्य भत्ताहरुको पनि व्यस्वथा गरिएको हुन्छ । जसमा खाना भत्ता, जोखिम भत्ता, आवस भत्ता, पोसाक भत्ता र अन्य विभिन्न भत्ताहरुको व्यस्था हुन्छ । तर, यी भत्ताबाट आएको रकम सोहि कार्यका लागि मात्र प्रयाप्त हुने गर्छ । प्रहरीको जागिर नै जोखिमको जागिर हो, तर जोखिम अनुसारको जोखिम भत्ताको व्यवस्था नगरिएको स्वयम प्रहरीहरु नै बताउँछन् ।
गत पाँच आर्थिक वर्ष हेर्दा प्रत्येक वर्ष प्रहरीहरुको काम छाड्ने क्रम झनै बढ्दै गएको देख्न सकिन्छ । आर्थिक वर्ष (आव)२०७७/२०७८मा ७०३ जनाले नेपाल प्रहरीको जागिर छाडेका थिए भने आव २०७८/२०७९ मा ४९८ जनाले प्रहरीबाट बिदा भएका थिए । आव २०७९/२०८०मा ६३२ जना प्रहरीले जागिर छाडेका थिए । यस तथ्यांकले आव २०७९/२०८० बाट प्रहरीमा जागिर छाड्नेको लाहर झनै बढेको देखिन्छ ।
आव २०८०/२०८१ मा ७९३ जना प्रहरीले जागिर छाडेका थिए भने चालु आव २०८१/२०८२ को हाल सम्ममा पछिल्ला आवको तुलना झन धेरैले नेपाल प्रहरीको जागिर छाडेका छन् । यस आवमा २२१६ जना प्रहरीले जागिर छाडेका छन् । गत पाँच आवमा मात्र ४ हजार ८ सय ४२ जना प्रहरीले जागिर छाडिसकेको प्रहरीले बताएको छ ।



About Us
प्रतिक्रिया