बुटवल – बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रीदेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम पेस गरेकी हुन् । बुटवल उपमहानगरले चालु आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको थियो ।
बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेस गरेको छ । बुटवल उपमहानगरले आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौँ, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ । जसका लागि ५० लाख रुपैयाँ व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् ।
यस्तै ‘बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना’ भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेट वक्तव्यमा उल्लेख छ । बुटवललाई पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुटाइएको छ ।
विद्यालयहरूको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाऊँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोसाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ ।
यस्तै ज्येष्ठ नागरिक र असहायहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रम बा आमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्स-रे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्टाइएको छ ।
यस्तै गरी, नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्यमी महिलाहरूका लागि ७० लाख, दलित समुदायका परम्परागत पेसालाई सीप विकास केन्द्रका रूपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरूलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जित गढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन् ।
किसानहरूका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन स्वरूप अनुदान दिनका लागि ५० लाख, कालिका पथ, अमर पथ र ट्राफिक चोकमा रात्रिकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ । यस्तै अव्यवस्थित बसोबास र सुकुम्वासी क्षेत्रको नाप जाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । बुटवलले यसअघि शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खेलराज पाण्डेयले शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई प्राथमिकता दिएर नीति बनाएको बताएका थिए ।



About Us
प्रतिक्रिया