सगरमाथा जलविद्युतको आइपीओ आजदेखि सर्वसाधारणमा विक्री खुला

सगरमाथा जलविद्युतको आइपीओ आजदेखि सर्वसाधारणमा विक्री खुला


बैंकिङ्ग समाचार, काठमाडौ ।
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा चैत १२ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।