मानुषी र श्रृजनशील लघुवित्तबीच मर्जर हुने सम्झौता

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएको छ । यी कम्पनीहरू मर्जरमा जानका लागि बिहीवार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरका लघुवित्त कम्पनी हुन् । समान चुक्तापूँजी रहेका दुवै कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने दुवै कम्पनीको शेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा भइसकेको छ ।

मर्जर पछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरि प्रस्ताव गरिएको छ । कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३÷ ३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिने जानकारी दिइएको थियो । साथै मर्जर प्रक्रिया चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको जानकारी दिइएको थियो ।

चालू आवको दोस्रो त्रैमास सम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ शाखा मार्फत ४१ हजार ९४८ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ ओटा शाखा मार्फत ३४ हजार ३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।