फिल्म ‘छक्कापञ्जा ४’ को डायलग प्रति सहकारी अभियानको आपत्ति

फिल्म ‘छक्कापञ्जा ४’ को डायलग प्रति सहकारी अभियानको आपत्ति


बैंकिङ्ग समाचार, काठमाडौं ।
फागुन १९ गतेदेखि प्रर्दशनमा आएको नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को संवाद (डायलग) प्रति सहकारी अभियानले आपत्ति जनाएको छ।

उक्त फिल्ममा एउटा संवाद छ, ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ ।’, त्यसपछि महिला पात्र भन्छिन्, ‘अनि म चाँही के नी ?’ त्यसपछि पुरुष पात्रले जवाफ दिन्छ, ‘सहकारी १ भाग्न पनि सक्छ ।’ यति भनेपछि राजा अर्थात पुरुष पात्र त्यहाँबाट बाहिरिन्छ ।

यो संवाद अहिले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा भाइरल बनिरहेको छ । यही संवादलाई लिएर सिंगो सहकारी अभियानले आपत्ती जनाएको छ । सार्वजनिक कार्यक्रमहरुमा समेत यही संवादलाई लिएर फिल्पको विरोध हुने गरेका छन् ।

फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको सहकारी अभियन्ताहरुले बताएका छन् । उक्त संवादले समग्र सहकारी माथीको अपमान गराएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेल बताउँछन् । उक्त संवाद हटाउनुपर्ने समेत अध्यक्ष कडेलले बताए ।

सहकारीको विषयमा अतिरञ्जित हिसाबले प्रयोग गरेको डायलगप्रति घोर आपत्ति रहेको सहकारीकर्मी मधुसुधन पाठक बताउँछन् । पाठकले आपत्ति जनाउँदै फेसबुकमा लेख्छन्,

‘सहकारीको विषयमा अतिरञ्जित हिसाबले प्रयोग गरेको डायलगप्रति घोर आपत्ति छ । दीपक दाइ तपाईंका सबै डायलगप्रति रोमान्टिक हिसाबले सहमत छु । तर देशकै अर्थतन्त्रको प्रमुख एक हिस्सा ओगटेको सहकारी क्षेत्रको अध्ययन बिना प्रयोग यो डाइलगको वाक्यांश सही छैन । जे होस् फिल्म दामी छ । समयसापेक्ष राजनीतिक परिवर्तनका लागि यो सबैले हेर्न आवश्यक छ, बधाई तथा शुभकामना ।’

सहकारी अभियान माथीको प्रहार हुँदा पनि सहकारीका नेतृत्वदायी संघ र महासंघ मौन रहेको भन्दै चौतर्फ बिरोध समेत भएको छ।   

\"\"