प्रभु बैंकले वितरण गर्यो यस वर्षको ८ प्रतिशत लाभांश 

प्रभु बैंकले वितरण गर्यो यस वर्षको ८ प्रतिशत लाभांश 


बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रभु बैंक लिमिटेडले ८ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १२ अर्ब ७० करोड ८७ लाख ४ हजारको आधारमा ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

बैंकको पुस १४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको थियो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर र बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो । 

बोनस शेयर धितोपत्र दोस्रो बजारमा समेत सूचीकृत भैसकेकाले हितग्राही खातामा जम्मा भैसकेका शेयरधनीहरूले उक्त शेयर कारोबार गर्न सक्नेछन् । मंसिर २९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा जम्मा भएको बोनस शेयर कर्जा प्रदायक बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएको जानकारी बैंकले दिएको छ । यसदिन कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न बैंकले अनुरोध गरेको छ । 

हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूको हकमा हितग्राही खाता खोलेपछि मात्र बोनस शेयर जम्मा हुने भनाई बैंकको छ । नगद लाभांशको हकमा पनि बैंक खातामै जम्मा गरिने भएकाले हितग्राही खातामा हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन बैंकले भनेको छ । बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।