गभर्नर सिफारिस समितिले पायो पूर्णता, पौडेलको ठाउँमा  पाण्डे नियुक्त


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा अर्थविद् डा.पोषराज  पाण्डे नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्त गरेको हो । विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो।

समितिमा संयोजक अर्थमन्त्री विष्णु प्रसाद पौडेल, तत्कालीन गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए । पौडेलसँगै गभर्नर सिफारिस समितिका सदस्यले राजीनामा दिएको दोस्रो पटक हो । २०८१ चैत १९ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नेतृत्वमा भट्टराईसहित विश्व पौडेल सम्मीलित समिति गठन भएको थियो।

यसअगाडि विजयनाथ भट्टराईले राजीनामा दिएपछि खाली भएको समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो । सिफारिस समिति गठन भएको एक महिनासम्म बैठकसम्म नबस्ने समितिमा बस्नुको कुनै अर्थ नभएको भन्दै भट्टराईले राजीनामा दिएका थिए । पौडेलले भने सिफारिस समिति सदस्यबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा छन् ।

गत चैत २४ गते नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए । तर, सरकारले चैत २४ गतेभन्दा एक महिना अघि नै भेट्नुपर्ने गभर्नर अझै भेटेको छैन ।