आर्थिक वृद्धिदरको बहस नै पाँच प्रतिशतभन्दा माथि पुग्योः अर्थमन्त्री खतिवडा 

आर्थिक वृद्धिदरको बहस नै पाँच प्रतिशतभन्दा माथि पुग्योः अर्थमन्त्री खतिवडा 


बैंकिङ्ग समाचार । 

देशको आर्थिक वृद्धिदरको बहस ६ प्रतिशतमा पुग्‍नु सकारात्मक भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । 

सरकारले आठ प्रतिशत वृद्धिको लक्ष्य लिएको तर विरोध गर्नेले अहिले ६ देखि सात प्रतिशत भन्दा बढी नहुने भन्दै आलोचना गर्ने गरेको उनले बताए । 

ललितपुरको हरिहर भवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले भने,  ‘आफू सत्तामा हुँदा चार प्रतिशत आर्थिक वृद्धि नगर्नेले अहिले आठ प्रतिशत वृद्धि नभएपनि ६ देखि सात प्रतिशत वृद्धि हुने बहस गरेकाले बहसको स्तर नै अब पाँच प्रतिशत भन्दा माथि पुगेको छ । जुन आफैंमा सकारात्मक हो ।’

त्यस्तै अर्थमन्त्री खतिवडाले सरकारले दुई वर्षमा औसतभन्दा बढी उपलब्धि हासिल गर्न सफल भएको बताए । देशको आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपान्तरणमा औसत भन्दा राम्रो भएको उनको भनाइ छ ।

कार्यक्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने विचार राखे । उनले वित्तीय संघीयताको पाटोमा सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने सुझाव दिए ।