बैंकहरूको साढे २ अर्ब ऋण जोखिममा, कुन बैंकको कति रकम धरापमा ? 

बैंकहरूको साढे २ अर्ब ऋण जोखिममा, कुन बैंकको कति रकम धरापमा ? 


बैंकिङ्ग समाचार । 
बालुवाटारस्थित ललिता निवास जग्गा खरिद प्रकरणमा विभिन्न बैंकको लगानी डुब्ने खतरा बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा धितोमा राखेर कर्जा लिएका जग्गाधनीसमेतलाई मुद्दा चलाएपछि बैंकको लगानी जोखिममा परेको हो।

अख्तियारले ललिता निवासको जग्गा अनाधिकृत खरिद बिक्री गर्ने १ सय ७५ जनाविरुद्ध गत बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीले सोही जग्गा धितो राखेर अर्बौं रकम ऋण लिएको जनाएको छ।

अख्तियारका अनुसार बैंकले ललिता निवासमा झण्डै ३ अर्ब रुपैयाँ लगानी गरेका छन्। अख्तियारले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न बैंकले विवादित जग्गा खरिदका लागि जग्गाधनीलाई २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार रुपैयाँभन्दा बढिको धितोमा कर्जा दिएका छन्।

विभिन्न १३ बैंक तथा वित्तीय संस्थाको लगानी ललिता निवासमा रहेको देखिएको अख्तियार स्रोत बताउँछ । १२ वटा बैंक तथा वित्तीय संस्था र एक सहकारी संस्थाले ललिता निवासको जग्गा धितोमा राखेर कर्जा प्रवाह गरेका हुन्।

कुन–कुन बैंकको लगानी जोखिममा ?

ललिता निवासको जग्गा धितोमा राखेर सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ। अनुसन्धानका क्रममा यस बैंकले ५ वटा ऋणमार्फत तीन जनालाई १ अर्ब ४८ करोड २० लाख रुपैयाँ ऋण प्रवाह गरेको खुलेको छ।

यसैगरी लक्ष्मी बैंकले ४७ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। ललिता निवासको जग्गामा सरकारी लगानीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँग एक्विजिसनमा गएको एनआईडीसी डेभलपमेन्ट बैंकले त्यस्तो कर्जा प्रवाह गरेको पाइएको हो। यसैगरी ग्लोबल आइएमई बैंकले ललिता निवास जग्गामा ६ करोड ३७ लाख ५८ हजार रुपैयाँ लगानी गरेको छ।

यस्तै हिमालयन बैंकले ३ करोड ३१ लाख, सिभिल बैंकले ३ करोड, प्राइम कमर्सियल बैंकले २ करोड ४२ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । यसैगरी कुमारी बैंकको १ करोड ४० लाख रुपैयाँ, सिभिल बैंकको स्वामित्वमा गएको तत्कालीन युनिक फाइनान्सबाट तथा कुमारी बैंकको तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंकबाट ऋण प्रवाह गरिएको थियो।

महालक्ष्मी विकास बैंक, एनआईसी एसिया बैंक तथा प्रभु बैंकले पनि ललिता निवासको जग्गामा ऋण लगानी गरेको पाइएको छ। यी बैंकहरूको ऋण लगानी भने १ करोड रुपैयाँभन्दा कम छ।

महालक्ष्मी बैंकको तत्कालीन यति डेभलपमेन्ट बैंकले सो जग्गामा ९८ लाख रुपैयाँकर्जा लगानी गरेको भेटिएको छ। यस्तै एनआईसी एसिया बैंकले तत्कालीन बैंक अफ एसियाले ७५ लाख ७८ हजार १ सय २५ रुपैयाँ लगानी गरेको खुलेको छ। यस्तै प्रभु बैंकले तत्कालीन किस्ट बैंकबाट ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ। साथै आर्यतारा बचत तथा ऋण सहकारी संस्थाले २ करोड रुपियाँ ऋण लगानी गरेको छ।

अनुसन्धान गर्दै राष्ट्र बैंक

ललिता निवासको जग्गामा बैंकहरूको कर्जा लगानी रहेको विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेसँगै बैंकहरूको पनि लगानी भेटिएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो।

त्यसपछि बैंकहरूलाई दुई दिनभित्रमा लगानी विवरण पठाउन राष्ट्र बैंकले निर्देशन दिएको थियो। अहिले बैंकहरूले पठाएको विवरणका आधारमा अध्ययन भइरहेको राष्ट्र बैंकले स्रोतले जनाएको छ।अनाधिकृत प्रयोग गरिएका बैंकमा लगानी गरेका बैंकलाई कारबाही गरिने जनाइए पनि अहिलेसम्म के हुन्छ भन्नेबारे भने राष्ट्र बैंकले बताइसकेको छैन।

ललिता निवास जग्गामा कुन बैंकको कति लगानी ?

 नेपाल इन्भेष्टमेन्ट बैंकः १ अर्ब ४८ करोड २० लाख 

 लक्ष्मी बैंकः ४७ करोड ५ लाख 

 राष्ट्रिय वाणिज्य बैंकः १५ करोड 

 ग्लोबल आइएमई बैंकः  ६ करोड ३७ लाख ५८ हजार 

 हिमालयन बैंकः  ३ करोड ३१ लख 

 सिभिल बैंकः ३ करोड 

 प्राइम कमर्सियल बैंकः २ करोड ४२ लाख 

 कुमारी बैंकः १ करोड ४० लाख 

 महालक्ष्मी बैंकः ९८ लाख 

 एनआईसी एसिया बैंकः ७५ लाख ७८ हजार 

 प्रभु बैंकः ४९ लाख 

 आयर्यतारा सहकारीः २ करोड