कोरोना भाइरसले २०२० मा विश्वव्यापी आर्थिक वृद्धिलाई प्रभावित पार्नसक्छः आईएमएफ

कोरोना भाइरसले २०२० मा विश्वव्यापी आर्थिक वृद्धिलाई प्रभावित पार्नसक्छः आईएमएफ


बैंकिङ्ग समाचार । 

चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताएका छन् । तीब्र गतिमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने उनले बताए।

दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आएका आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले भने, ‘आर्थिक वृद्धि दरमा कटौती हुनसक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान रहेको छ ।’
करिब एक हजार ६०० व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो ।

जर्जिएभाले भने, ‘म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ । अनिश्चितता अझै बाँकी छ । हामी परिदृश्यहरूसँगै काम गर्छौं अनुमानका भरमा मात्रै होइन । आगामी १० दिनमा मलाई सोध्नुहोस यसबारे स्वभाविक नतिजा भन्नुसकौँला ।’

आइएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३.३ प्रतिशतमा झारेको थियो । सन् २०१९ मा आर्थिक वृद्धि दर २.९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो ।

विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो ।

महामारीको पूर्ण प्रभावको आँकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरे ।

उनले थपे, ‘आर्थिक प्रक्षेपणलाई परिवर्तन गरिहाल्नु अहिल्यै कठिन छ किनकि हामीलाई यो भाइरसको प्रकृति के हो भनेर अझ राम्ररी थाहा छैन । हामीलाई थाहा छैन कि चीनले कत्ति छिटो यसलाई नियन्त्रणमा ल्याउने छ । यो बाँकी विश्वमा फैलिनेछ वा छैन हामीलाई अहिले थाहा छैन ।’

चीनमा यसको नियन्त्रणमा ढिलाई भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीब्र कटौती हुने उनको धारणा थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उनले भने, ‘हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक बृद्धि, कम ब्याज दर र कम मुद्रास्फीतिमा अडिएका छौं ।’